गर्मी बढेसँगै बाँकेमा विभिन्न प्रजातिका विषालु सर्प देखिन थालेका छन्। खासगरी रसेल भाइपर, फेटारा, गोबन, करेत जस्ता विषालुसहित धामन, अजिङगरलगायतका सर्प देखिन थालेका डिभिजन वन कार्यालयले जनाएको छ।
वन कार्यालयका सिनियर डिभिजन वन अधिकृत शङ्करप्रसाद गुप्ताले गर्मी खप्न नसक्ने अवस्थाले सर्प चिसोको खोजीमा बाहिर निस्कँदा केहीको घरमा पसेको बताए।
केही घरबाट विषालु सर्पको उद्धार गरिएको छ। ‘अहिले दैनिकजसो एउटा सर्पको बस्तीबाट उद्धार गरिएको छ र कहिलेकाहीँ दिनमा तीन सर्पको समेत उद्धार गरिएको छ’, उनले भने।
उनले अहिलेको गर्मीमा विगतको वर्षभन्दा बढी सर्प जमिन बाहिर देखिएको जानकारी दिए। ती सर्पको उद्धार गरेर जङ्गलमा लगेर छाडिएको छ। यस आर्थिक वर्षमा चिसोयाममा समेत सर्पको उद्धार भएको थियो।
उनले अहिलेसम्म यस आर्थिक वर्षमा १४० विभिन्न प्रजातिका सर्पको उद्धार गरिएको जानकारी दिए। सर्प उद्धार गर्नका लागि सशस्त्र वनरक्षक थीरबहादुर थापाको संयोजकत्वमा उद्धार टोली गठन गरिएको छ।
सो टोलीलाई केही उपकरणसहित सामान्य तालिम दिइएको उल्लेख गर्दै उनले नेपालगन्जबाहेक कोहलपुरबाट समेत सर्पको उद्धार भएको बताए। बाँके राष्ट्रिय निकुञ्ज तथा त्यसको मध्यवर्ती क्षेत्रबाहेक जिल्लाका सम्पूर्ण भूभाग डिभिजन वन कार्यालयको कार्यक्षेत्रभित्र पर्ने डिभिजन वन कार्यालयले जनाएको छ।
Shares

प्रतिक्रिया