काठमाडौँको नागढुङ्गा चेक पोस्टबाट प्रहरीले तीन जना चालकलाई पक्राउ गरेको छ।
लागू पदार्थ सेवन (लापसे) गरेर सवारी चलाउने तीन जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा ट्रक चालक २ जना र भाडाको माइक्रो बसका चालक १ जना रहेका छन्।
नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीको सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण व्युरो र ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले जाँच गर्दा लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको पाइएपछि उनीहरु पक्राउ परेका हुन्।
उनीहरुलाई थप अनुसन्धानका तथा कारवाहीका लागि प्रहरी प्रभाग नागढुङ्गा पठाइएको छ। यात्रु बोक्ने जस्तो संबेदनशील सवारी साधन चलाउने चालकले नै लागुपदार्थ सेवन गरी सवारी चलाउनु आफैँमा नियम विपरित तथा दण्डनीय कार्य भएकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न पनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले आग्रह गरे।
Shares

प्रतिक्रिया