पश्चिमी र स्थानीय वायुको गएराति देशका विभिन्न जिल्लामा वर्षा भएको छ। खोटाङ र उदयपुरमा भने १२ घण्टामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको शनिबार राति ९ः३० बजेको अभिलेखअनुसार पछिल्लो १२ घण्टामा खोटाङको भैँसे लामीडाँडा स्टेशनमा ७५.२ मिलिमिटर र उदयपुरको गढीमा ४९.६ मिलिमिटर वर्षा भएको छ।
योसँगै देशका ३५ जिल्लामा वर्षा भएको तथ्यांक विभागले सार्वजनिक गरेको छ।
विभागका अनुसार धनकुटामा ३०.८, कास्कीमा २३.६, पर्वतमा १९, ललितपुरमा २०.६ र काभ्रेमा १६.२ मिलिमिटर वर्षा भएको छ। अन्य धेरै स्थानमा हल्का वर्षा भएको छ।
तराईका विभिन्न जिल्लामा शुत्रबार साँझ हावाहुरी चलेको छ। हावाहुरी र वर्षाले गर्मी केही घटेको छ। तराई क्षेत्रमा तापक्रम बढ्ने क्रम अझै केही दिन जारी रहने विभागका मौसमविद् सरोज पुडासैनीले जानकारी दिए।
विभागबाट प्राप्त विवरणअनुसार हिजो सबैभन्दा बढी अधिकतम तापक्रम नेपालगन्जमा ३९ डिग्री मापन गरिएको छ।
त्यसैगरि दिपायलमा ३८.८ र धनगढीमा ३८.२ डिग्री तापक्रम मापन भएको छ। हिजो काठमाडौँमा अधिकतम तापक्रम २८.४ डिग्री थियो।
Shares

प्रतिक्रिया