धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ।
स्वासप्रस्वासमा समस्या देखिएपछि ती महिलालाई बिहीबार अस्पताल ल्याइएको अस्पतालको भेन्टिलेटरमा राख्ने क्रममा उनको निधन भएको थियो।
ती महिलको शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परीक्षणको रिपोर्ट पनि पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिए।
‘धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको परीक्षण रिपोर्टले देखाएको छ’, ती अधिकारीले नेपालखबरसँग भने, ‘धुलिखेल अस्पतालमा गरिएको उनको पीसीआर परीक्षणको रिपोर्ट पनि पोजेटिभ नै आएको थियो, थप पुष्टि गर्नका लागि स्वाब काठमाडाैँ ल्याइएको हाे। उनले धुलिखेल अस्पतालपछि जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि कोरोना पोजेटिभ देखिएको बताए।
उनले महिलाको मृत्युको कारण कोरोना भए नभएको बारे थप अनुसन्धान हुने बताए। ‘मृत्यु भएकी महिलामा कोरोना पुष्टि भएको छ तर उनको मृत्युको कारण कोरोना हो वा अरु नै हो भन्ने बारेमा थप अनुसन्धान हुँदैछ’, ती अधिकारीले भने।
उनले महिलाको शवको पोस्टमार्टम गरिने बताए।
शनिबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मनत्रालयका प्रवक्ता डा. विकास देवकोटाले अस्पतालमा मृत्यु भएकी महिलाको कोरोना सम्बन्धी परीक्षणहरु भइरहेको र सम्पूर्ण नतिजा आएपछि जानकारी दिने बताए।

प्रतिक्रिया