हाल (बुधबार बिहान) गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको आकाशमा पूर्णतया बादल लागेको छ भने देशका बाँकी स्थानमा पनि साधारणतया बादल लागेको छ। अनि बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार,
दिउँसो : गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्णतया बादल लाग्ने तथा बाँकी स्थानमा साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका धेरै स्थान तथा कोसी र बागमती प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थान, मधेस प्रदेशलगायत कोसी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा/हिमपातको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा भारी वर्षा/हिमपात हुने सम्भावना छ।
यस क्रममा आज काठमाडौँ उपत्यका पनि मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना देखिएको मौसम महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए।
‘अहिले काठमाडौँ उपत्यकाको आकाश पनि बादलले ढाकिएको छ’, उनले बुधबार बिहान नेपालखबरसँग भने, ‘आज उपत्यकामा पनि मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ।’
राति : देशभर साधारणतया बादल लाग्नेछ। कोसी, मधेस, बागमती प्रदेशलगायत देशको पहाडी र हिमाली भूभागका केही स्थान तथा बाँकी तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना छ।

Shares

प्रतिक्रिया