अघिल्लो दिनको तुलनामा आज (सोमबार) बिहान काठमाडौँ उपत्यकामा चिसो बढेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आइतबारभन्दा कम्तीमा २ डिग्री सेल्सियस घटेको हो।
महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४.९ डिग्री सेल्सियस छ।
अझ यो सुरुवाती मापन मात्र हो। आजको वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिनेछ। त्यतिबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थौरै घट्ने सम्भावना हुन्छ भने कहिलेकाहीँ त्यही कायम रहन पनि सक्छ।
हिजो (आइतबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७.१ डिग्री सेल्सियस थियो। अधिकतम तापक्रम भने २६.७ डिग्री सेल्सियस थियो।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
मौसमविद्का अनुसार न्यूनतम तापक्रमले रातिदेखि बिहानसम्मको अवस्था जनाउँछ भने अधिकतम तापक्रमले दिनभरको अवस्था बताउँछ।
आइतबार यस्तो थियो तापक्रम सूची

काठमाडौँमा हल्का वर्षाको सम्भावना
यसैबिच आज काठमाडौँ उपत्यकामा हल्का वर्षा हुने सम्भावना देखिएको मौसमविद् दाहालले बताए।
‘दिउँसो/अपराह्नतिर हल्का छिटपुट खालको वर्षा हुने सम्भावना देखिएको छ’, उनले नेपालखबरसँग भने।
उनका अनुसार आज दिनभर काठमाडौँ उपत्यकामा मौसम साधारणतया बदली हुने सम्भावना छ। साधारणतया बदली भनेको आकाशमा बादल लाग्नु हो।
अहिले पनि काठमाडौँ उपत्यकाको मौसम साधारणतया बदली रहेको मौसमविद् दाहालले बताए।
देशभरको मौसमबारे भने मौसम महाशाखाले अहिले बिहान ८ बजे प्रक्षेपण जारी गर्नेछ।
Shares

प्रतिक्रिया