भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेल समस्याग्रस्त सहकारीका बचतकर्ताको पैसा फिर्ता गराउन छलफल भइरहेको बताएका छन्।
६९औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै सचिव भुजेलले सुशासनको कमीदेखि परदर्शीताको अभावका कारण सहकारीमा समस्या आएको बताए। अहिले सहकारीमा फसेका बचतकर्ताको रकम फिर्ता गराउनेबारे मन्त्रालयले छलफल अघि बढाएको उनको भनाइ थियो।
‘अहिले पनि मन्त्रीसहित हामी मन्त्रालयका अधिकारीहरू सहकारी बचतकर्ताको रकम कसरी फिर्ता गराउन सकिन्छ भन्ने विषयमा हामी समय खर्च गरिरहेका छौँं। सरकारको विगतमा कमी कमजोरी भए होला,’ उनले भने।
सहकारीको मूल्यमान्यताअनुसार चल्नुपर्नेमा केही सहकारीमा विचलन आएको सचिव भुजेलले बताए। ‘मुख्य समस्या भनेको सहकारीका सञ्चालक, व्यवस्थापकहरूकै कारणले सहकारीको यो अवस्था आएको हो। सहकारी नबुझेको म (मदन भुजेल) सचिवलाई पनि अहिले टाउको दुःखाई बनेको छ,’ उनले थपे।
सचिव भुजेलले सहकारी क्षेत्रको प्रवर्द्धन तथा हाल देखिएका समस्या समाधान गर्न सरोकारवालासँग समन्वय र छलफल भइरहेको बताए। सहकारी क्षेत्रलाई थप व्यवस्थित र विश्वासिलो बनाउन मन्त्रालयले आवश्यक पहल अघि बढाएको उनको भनाइ थियो।
Shares

प्रतिक्रिया