इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकी नागरिकलाई सम्बोधन गर्दै एउटा पत्र लेखेका छन्।
जुन पत्र उनले सामाजिक सञ्जालमा सेयर गरेका छन्।
पत्रमा इरानका राष्ट्रपतिले भनेका छन्, ‘इरानले कहिल्यै कुनै युद्ध सुरु गरेन।’
बरु आफ्नो देशले लामो समयदेखि ‘कब्जा र आक्रामकता’को सामना गरिरहेको उनले उल्लेख गरेका छन्।
यो पत्र अमेरिकाका राष्ट्रपति ट्रम्पले ‘इरानको नयाँ शासनका राष्ट्रपति’ले युद्धविरामका लागि आग्रह गरेको दाबी गरेको केही घण्टापछि सार्वजनिक गरिएको हो।
तर पेजेस्कियानले आफ्नो पत्रमा युद्धविरामको कुरा उल्लेख गरेका छैनन्।
उनले लेखेका छन्, ‘इरानी जनतामा अमेरिका, युरोप वा छिमेकी देशका जनताप्रति कुनै द्वेषभाव छैन।’
अन्तिममा उनले लेखेका छन्, ‘टकराव र संवादबिचको निर्णयले भावी पुस्ताको भविष्य निर्धारण गर्नेछ।’
यसैबिच बिहीबार बिहान अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गर्दै इरानविरुद्धको युद्ध जितिएको दाबी गरेका छन्।
उनले भने, ‘इरानको क्षेप्यास्त्र/ड्रोन क्षमता र नौसेना नष्ट भएका छन्। उसको सैन्य शक्ति ठुलो मात्रामा कमजोर भएको छ। यस सैन्य कारबाहीको मुख्य उद्देश्य पूरा हुन लागेको छ।’
ट्रम्प सम्बोधनका प्रमुख ७ बुँदा
• इरानको क्षेप्यास्त्र/ड्रोन क्षमता र नौसेना समाप्त भएका छन् र सेना हाम्रो नियन्त्रणमा छ।
• इरानका सबै शीर्ष नेता मारिएका छन् र शासन परिवर्तन भएको छ।
• इरानले आफ्नै ४५,००० जनताको हत्या गरेको छ।
• हामी इरानलाई आणविक शक्ति बन्न दिँदैनौँ
• सम्झौता भएन भने इरानलाई ध्वस्त पार्नेछौँ
• होर्मुजबाट तेल चाहनेहरूले यसको रक्षा गर्नुपर्छ; हामीलाई यसको आवश्यकता छैन
• हामी साउदी अरब र बहराइनलाई एक्लै छाड्ने छैनौँ
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा हवाई हमला गरेयता युद्ध जारी छ। बदलामा इरानले इजरायलका साथै अमेरिकी आधार/अड्डा रहेका खाडीका देशहरूमा पनि आक्रमण गरेका कारण एक महिनाभन्दा बढी समयदेखि मध्यपूर्व द्वन्द्वमय बनेको छ।
जसमा परी अहिलेसम्म मारिएकाको संख्या ४ हजार ५०० नाघिसकेको छ। मारिएका मानिसमा सबैभन्दा बढी इरानका छन्।
कहाँ कति जना मारिए?
इरान : अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट्स इन इरानका अनुसार युद्ध सुरु भएदेखि अहिलेसम्म इरानमा ३ हजार ४ सय ९२ जना मारिइसकेका छन्। जसमा १ हजार ५ सय ७४ जना सर्वसाधारण नागरिक छन् भने कम्तीमा २ सय ३६ जना बालबालिका छन्।
इजरायल : इजरायली एम्बुलेन्स सेवा म्यागेन डेभिड एडोम (एमडीए) का अनुसार इजरायलमा मिसाइल आक्रमणमा परी अहिलेसम्म १९ जना मारिएका छन्। साथै लेबननमा नौ जना इजरायली सैनिक मारिएको इजरायली सेनाले जनाएको छ।
लेबनन : लेबननी स्वास्थ्य मन्त्रालयका अनुसार फेब्रुअरी २८ देखि अहिलेसम्म लेबननमा १ हजार २ सय ४७ जना मारिएका छन्, जसमा १२४ जना बालबालिका छन्।
खाडी क्षेत्र : खाडी देशहरूमा हालसम्म कम्तीमा २४ जना मारिएका छन्, जसमध्ये धेरैजसो सुरक्षा बलका सदस्य वा विदेशी कामदार छन्। यीमध्ये ११ जना संयुक्त अरब इमिरेट्स (यूएई) मा र ७ जना कुवेतमा मारिएका हुन्। अनि ओमान, साउदी अरेबिया र बहराइनमा दुई-दुई जना मारिएको पुष्टि भएको छ।
Shares

प्रतिक्रिया