समाज


अर्यालकै ब्याची बन्नेछन् सशस्त्रको नयाँ आईजी, ३ दाबेदारमध्ये पौडेल अगाडि

अर्यालकै ब्याची बन्नेछन् सशस्त्रको नयाँ आईजी, ३ दाबेदारमध्ये पौडेल अगाडि

उजिर कार्की
चैत १८, २०८२ बुधबार २२:२, काठमाडौँ

सशस्त्र प्रहरी बल नेपालमा एक महिनापछि महानिरीक्षक (आईजीपी) पद रिक्त हुँदैछ। हालका सशस्त्र प्रहरी महानिरीक्षक अबको ठिक एक महिना अर्थात् वैशाख १८ गते आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अवकाश हुँदैछन्। 

सशस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधिको व्यवस्था भए पनि आईजीपी अर्याल २८ वर्षमै अवकाश हुन लागेका हुन्। अर्याल २०७९ वैशाख १८ गते सशस्त्र प्रहरी बलको महानिरीक्षक नियुक्त भएका थिए। 

२०५४ सालमा नेपाल प्रहरीको निरीक्षकमा भर्ना भएका अर्यालसहित उनको टोली २०५८ सालमा सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएको थियो। सशस्त्र प्रहरीमा जानासाथ एक तह बढुवा भएको र नयाँ संगठन भएकाले माथिल्लो तहमा छिटो रिक्त भएकाले अर्याल ३० वर्षे सेवा अवधि पूरा नगरी अवकाश हुन लागेका हुन्। 

सशस्त्र प्रहरीमा तीन कारणले अनिवार्य अवकाश हुने व्यवस्था छ। उमेर हद, पदावधि र सेवा अवधि। त्यसमध्ये अर्यालको पदावधि पहिले पूरा हुन लागेको हो। अर्यालको अवकाश नजिकिएसँगै सशस्त्र प्रहरीको भावी नेतृत्वको चर्चा हुन थालेको छ।

अर्यालकै ब्याचीबाट अबको आईजीपी 
सशस्त्र प्रहरीमा तीन जना अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी छ। जसमध्ये मानव स्रोत विकास विभागमा नारायणदत्त पौडेल कार्यरत छन् भने सीमा सुरक्षा विभागमा वंशी दाहाल छन्। अर्का एआईजी गणेश ठाडा मगर कार्य विभागमा कार्यरत छन्। 

अब सरकारले उनीहरू तीन जना मध्येबाटै आईजीपी बनाउनेछ। पौडेल र दाहालमध्ये जो आईजीपी भए पनि २०८४ चैत १८ गतेसम्म कार्यरत रहनेछन्। ३० वर्षे सेवा अवधि कायम रहे त्यसपछि उनीहरू दुवै जना अवकाश हुनेछन्। उनीहरू अवकाश भएपछि पनि गणेश ठाडा मगर भने आईजीपी बन्ने सम्भावना कायम रहनेछ। 

यसमा पनि नारायणदत्त पौडेलको सम्भावना बढी छ। उनी अरु दुई जनाभन्दा सिनियर एआईजी हुन्। उनकै ब्याचका हुन् वंशी दाहाल। तर उनी एआईजीमा पछि परेका थिए। नारायणदत्त र वंशी हालका आईजीपी अर्यालकै ब्याचका हुन्। 

नवनियुक्त गृहमन्त्री सुधन गुरुङले सोमबार नेपाल प्रहरी र मंगलबार सशस्त्र प्रहरी मुख्यालयको निरीक्षण गर्दै सरुवा बढुवाका लागि अब आफूलाई भनसुन नगर्न भनिसकेका छन्। 

उनले भनेका छन्, ‘अब सबै कुरा प्रक्रिया अनुसार हुन्छ। कुनै समस्या परे मलाई भन्नु होला, नभए अरु व्यक्तिगत लाभका कामका लागि मलाई भन्नु भयो भने हुने काम पनि हुँदैन।’ 

नारायणदत्त पौडेल र वंशी दाहाल हालका दुवै आईजीपीका ब्याची हुन्। नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की पनि उनीहरूसँगै प्रहरी निरीक्षकमा भर्ना भएका थिए। 

उनीहरू मध्येबाट जो आईजीपी बने पनि एउटै ब्याचबाट तेस्रो आईजीपी हुनेछन्। तीमध्ये दुई जना सशस्त्र प्रहरीमा र एक जना नेपाल प्रहरीमा। सँगै भर्ना भएकामध्ये ५ जना २०५८ सालमा सशस्त्र प्रहरीतिर सरेका थिए। ५ जनामध्ये तीन जना विशिष्ठ श्रेणीमा पुग्दा दुई जनाले संगठनकै नेतृत्व गर्ने अवसर पाउनेछन्।   

राजु अर्याल, नारायणदत्त पौडेल, वंशीराज दाहाल, शम्भु सुवेदी र लोकनाथ घिमिरे सशस्त्र प्रहरीमा आएका थिए। सुवेदी र घिमिरे अवकाश भइसकेका छन्। 

अब आईजीपी बन्ने सबैभन्दा बलियो सम्भावना रहेका पौडेल २०७९ जेठ ६ गते एआईजीमा बढुवा भएका थिए। अर्याल आईजीपी बनेपछि रिक्त पदमा पौडेललाई बढुवा गरिएको थियो। त्यसअघि डीआईजीसम्म उनीहरूसँगै बढुवा भएका थिए। 

वंशी दाहाल पौडेलभन्दा झण्डै ५ महिना जुनियर एआईजी हुन्। 

दाहाल २०७९ असोज २८ गते एआईजीमा बढुवा भएका थिए। दाहाललाई एआईजीमा बढुवा गर्दा तत्कालीन सरकारले सीमा सुरक्षा विभागका लागि एक जना एआईजीको दरबन्दी थप गरेको थियो। 

तर गणेश ठाडा मगर २ वर्ष जुनियर हुन्। २०५६ सालमा नेपाल प्रहरीको निरीक्षकमा भर्ना भएका उनी एआईजी पनि झण्डै तीन वर्षपछि मात्रै भएका हुन्। ठाडा मगर २०८२ असार २ गते एआईजीमा बढुवा भएका हुन्। तर ठाडा मगर आफ्नो ब्याचका एक्ला हुन्। पौडेल र दाहाल जो आईजीपी भए पनि त्यसपछि ठाडा मगर दुई वर्षका लागि आईजीपी बन्ने सम्भावना छ। 

त्यही भएर अहिले ठाडा मगर प्रतिस्पर्धी भए पनि उनको यसैपालि आईजीपी बन्ने सम्भावना भने न्यून छ। सशस्त्र प्रहरीमा अहिलेसम्म वरीयता मिचेर आईजीपी बनाइएको छैन। संगठनको यो अवस्था र अहिलेको सरकारले लिने भनेको नीतिले पौडेलकै आईजीपी बन्ने सम्भावना बढी छ। 

अर्को रोचक कुरा, एक महिनापछिका आईजीपीलाई दर्ज्यानी चिन्ह पनि प्रधानमन्त्री बालेन्द्र शाहले लगाइदिने सम्भावना छ। दुवै प्रहरीले लामो समयदेखि दर्ज्यानी चिन्ह गृहसचिवले नभई प्रधानमन्त्री वा गृहमन्त्रीले लगाइदिनु पर्ने माग गरिरहेका थिए।

यसअघिका सरकारले नसुनेको यो विषय गृहमन्त्री सुधन गुरुङले पूरा गर्ने वचन दिएका छन्। सोमबार प्रहरी प्रधान कार्यालयमा बोलेको यो कुरा उनले पूरा गरे भने एक महिनापछि सशस्त्र प्रहरीका आईजीपीले प्रधानमन्त्रीबाट दर्ज्यानी चिन्ह लगाउने छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad