हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यतिबेला (मंगलबार बिहान) कोसी प्रदेशलगायत देशका पहाडी र हिमाली क्षेत्रको आकाशमा साधारणतया बादल लागेको छ भने बाँकी स्थानमा आंशिक बादल छ। अनि कोसी, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात भइरहेको छ।
मौसम महाशाखाले बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी र हिमाली क्षेत्रको आकाशमा साधारणतया बादल लाग्नेछ भने तराईमा मौसम मुख्यतया सफा रहने छ। कोसी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थान साथै कोसी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपात हुने सम्भावना छ।
यस्तै राति देशका हिमाली क्षेत्रको आकाशमा साधारणतया बादल लाग्नेछ र पहाडी भेगमा आंशिक बादल लाग्नेछ तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने छ। कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थान तथा बाँकी हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना छ।
यसैबिच आज अपराह्नतिर काठमाडौँ उपत्यकामा पनि मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको मौसम महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिए।
‘आज दिनभर यहाँको मौसम साधारणतया बदली हुने सम्भावना छ’, उनले नेपालखबरसँग भने, ‘अनि दिउँसो/अपराह्नतिर मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना छ।’

Shares

प्रतिक्रिया