अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि इरानसँग ‘सकारात्मक वार्ता’ भइरहेको दाबी गरिरहेका बेला इजरायलले भने इरान र लेबनन दुवैविरुद्ध हमला जारी रहेको जनाएको छ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले एक्स अकाउन्टमा भिडिओ वक्तव्य जारी गर्दै इरानविरुद्ध आक्रमण नरोकिएको बताएका हुन्।
भिडिओमा नेतन्याहुले भनेका छन्, ‘राष्ट्रपति ट्रम्पलाई विश्वास छ- अमेरिकी सेनासँग हामीले हासिल गरेको अभूतपूर्व सफलता उपयोग गर्दै एउटा सम्झौतामा युद्धका उद्देश्य प्राप्त गर्ने अवसर छ। एउटा यस्तो सम्झौता, जसले हाम्रो महत्त्वपूर्ण हितको रक्षा गर्नेछ।’
उनले अगाडि भनेका छन्, ‘साथै हामीले इरान र लेबनन दुवैमाथि प्रहार गर्न जारी राखेका छौँ। हामी (इरानको) क्षेप्यास्त्र र आणविक कार्यक्रम नष्ट गरिरहेका छौँ र हेजबुल्लाहविरुद्ध ठुला हमला गरिरहेका छौँ।’
यस क्रममा नेतन्याहुले केही दिनअघि मात्र इरानमा थप दुई आणविक वैज्ञानिक मारिएको दाबी गरेका छन्।
उनले अगाडि भनेका छन्, ‘हामी जुनसुकै मूल्यमा पनि हाम्रा महत्त्वपूर्ण हितको रक्षा गर्नेछौँ।’
नेतन्याहुको भिडिओ वक्तव्य
מוקדם יותר היום שוחחתי עם ידידנו הנשיא טראמפ.
— Benjamin Netanyahu - בנימין נתניהו (@netanyahu) March 23, 2026
הנשיא טראמפ מאמין שיש סיכוי למנף את ההישגים הכבירים שהשגנו עם צבא ארה"ב, כדי לממש את יעדי המלחמה בהסכם - הסכם שישמור על האינטרסים החיוניים שלנו.
במקביל, אנחנו ממשיכים לתקוף גם באיראן וגם בלבנון. אנחנו כותשים את תוכנית הטילים… pic.twitter.com/EHG9geofkl
यसअघि ट्रम्पले भने जारी द्वन्द्व पूर्ण रूपमा अन्त्य गर्न अमेरिका र इरानबिच ‘सकारात्मक वार्ता’ भएको दाबी गर्दै इरानका विद्युत् केन्द्र र ऊर्जा पूर्वाधारमा पाँच दिन आक्रमण नगर्ने निर्णय गरिएको जानकारी गराएका छन्।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘मलाई यो कुरा सुनाउन पाउँदा खुसी लागेको छ- अमेरिका र इरानबिच विगत दुई दिनमा मध्यपूर्वमा जारी द्वन्द्व पूर्ण रूपमा समाधान गर्ने विषयमा धेरै राम्रो र सकारात्मक छलफल भएको छ।’
उनले अगाडि लेखेका छन्, ‘यो हप्ताभरि जारी रहने रचनात्मक वार्तालाई ध्यान दिँदै मैले युद्ध विभागलाई इरानका पावर प्लान्ट र ऊर्जा पूर्वाधारमा सबै सैन्य आक्रमण पाँच दिनका लागि स्थगन गर्न निर्देशन दिएको छु। यो निर्णय बैठक र छलफलको सफलतामा निर्भर हुनेछ।’
अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत शीर्ष नेता तथा अधिकारीको हत्या गरेयता निरन्तर युद्ध जारी छ।
यसबिच इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता तथा जनसम्पर्क अधिकारी अली मोहम्मद नैनी पनि मारिइसकेका छन्।
अमेरिका-इजरायलको आक्रमणबाट इरानमा अहिलेसम्म ३ हजारभन्दा बढी जनाको मृत्यु भइसकेको अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले जनाएको छ।
Shares

प्रतिक्रिया