बाढी पहिरोको कारण बीपी राजमार्ग अवरुद्ध बनेको छ।
आज (शनिबार) बिहान साढे तीन बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
शुक्रबार दिउँसोदेखिको वर्षापछिको बाढीपहिरोले काभ्रेको रोशी गाउँपालिका क्षेत्रमा पर्ने चारसयबेशी, गिम्दी, दाउन्ने र कालढुंगामा लगायतका ठाउँमा सडक अवरुद्ध बनेको हो।
ठाउँठाउँमा खसेको पहिरो र रोशी खोलाको बाढीले सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक (डीएसप) रविन बिष्टले जानकारी दिए।
बिष्टका अनुसार बाढीका कारण उक्त सडक खण्डमा सवारी साधन सञ्चालन ठप्प भएको छ भने केही सवारी साधनहरू बीच बाटोमै अलपत्र परेका छन्। वर्षा निरन्तर भइरहेकाले खोलाको बहाव अझ बढ्न सक्ने अनुमान गरिएको उनले बताए।
सडक अवरुद्ध भएपछि यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह गरिएको छ। सम्बन्धित निकायले सडक खुलाउने प्रयास जारी राखेको डीएसपी बिष्टले जानकारी दिए।
०८१ साल असोज १२ गते रोशीमा आएको ठूलो बाढीले बीपी राजमार्ग क्षतविच्छत भएको छ।
सडक बाढीले बगाउँदा डाइभर्सनबाट गाडी चल्दै आएका थिए। त्यही डाइभर्सन सडक पनि गएराति बाढीले बगाउँदा रोशी गाउँपालिका क्षेत्रमा पर्ने चारसयबेशी, गिम्दी, बाउन्ने र कालढुंगामा सडक अवरुद्ध बनेको हो।
Shares

प्रतिक्रिया