ad ad

समाज


संक्रमित महिला काठमाडौंबाट बसमा कञ्चनपुर आएकी थिइन्, ५२ दिन बिताइन्

संक्रमित महिला काठमाडौंबाट बसमा कञ्चनपुर आएकी थिइन्, ५२ दिन बिताइन्

गोकुल जोशी
बैशाख ३१, २०७७ बुधबार ११:५३,

कञ्चनपुरको बेदकोट नगरपालिका–१० सिसैया हरपालकी ३३ वर्षीया एक महिलामा काठमाडौंमा परीक्षण गर्दा कोरोना संक्रमण देखिएको छ।

कञ्चनपुरबाट काठमाडौं गएकी ती महिलामा कोरोना संक्रमण देखिएपछि स्वास्थ्य कार्यालय कञ्चनपुरले उनको सम्पर्कमा रहेका व्यक्तिको खोजी कार्य (कन्ट्याक्ट ट्रेसिङ) सुरु गरेको छ। संक्रमित महिलाले कञ्चनपुरमा झण्डै दुई महिना बिताएको कन्ट्याक्ट ट्रेसिङबाट खुलेको छ।

स्वास्थ्य कार्यालय कञ्चनपुरले निकालेको संक्रमित महिलाको ‘ट्राभल हिस्ट्री’ अनुसार उनी चैत ६ गते कान्छो देवरको ब्रतबन्ध कार्यका लागि काठमाडौंबाट बसमा कञ्चनपुर बेदकोट नगरपालिका–१० हरपाल, सिसैयास्थित घरमा आएकी थिइन्। बसमा उनकै देवर, १४ वर्षीया छोरी र ९ वर्षका छोरा समेत काठमाडौंबाट कञ्चनपुर आएका थिए। उनी चढेको बसमा कति मानिस थिए भन्ने अझै खुलेको छैन।

सशस्त्र प्रहरीबाट अवकास प्राप्त ती महिलामा देखिएको कोरोना संक्रमणको स्रोत पनि पत्ता नलागेको स्वास्थ्य कार्यालयले जनाएको छ। ब्रतबन्धका लागि पुख्र्यौली घर डडेल्धुराको भागेश्वर गाउँपालिकामा पर्ने लामकाँडा जाने तयारीमा रहेकै बेला लकडाउन भए पछि उनीहरु बेदकोट नगरपालिकास्थित घरमै रोकिएका थिए। कञ्चनपुर पुगेका उनीहरु झण्डै ५२ दिन पछि काठमाडौं फर्किए।

मेडिकल टिम लिएर काठमाडौंबाट धनगढी आएको सशस्त्र प्रहरीको भ्यानमा उनीहरु काठमाडौं फर्किएको खुलेको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोरोना फोकल पर्सन सिद्धराज भट्टले बताए। संक्रमित महिलाका श्रीमान काठमाडौंस्थित सशस्त्र प्रहरीको बलम्बु अस्पतालको ल्याबमा कार्यरत छन्।

संक्रमित महिलाले कैलालीको अत्तरिया पुग्न अटो प्रयोग गरेकी थिइन्। वैशाख २८ गते बेलुका अटोमा दुई बच्चा (१४ वर्षीया छोरी र नौ वर्षीय छोरा) लाई लिएर कैलालीको अत्तरिया पुगिन्। कोरोना संक्रमित महिलालाई कैलालीको अतरियासम्म ओसार्ने अटो चालक उनकै गाउँकै हुन्। उनको मासु पसल समेत रहेको बुझिएको छ।

मेडिकल टिम लिएर धनगढी आएको सशस्त्र प्रहरीको भ्यानमा संक्रमित महिला, उनका छोरा छोरी र अन्य ५ जना (फर्केको भ्यानमा रहेका) गरी आठ जना त्यो राती कोहलपुरमा बास बसेका थिए। त्यसपछि वैैशाख २९ गते बिहानै उनीहरु काठमाडौंका लागि त्यहाँबाट हिँडेका थिए। बाहिर जिल्लाबाट आउनेहरु रुटिन जाँच अन्तरगत काठमाडौंमा सशस्त्र प्रहरीको क्याम्पमा सो भ्यानमा रहेका सबैको स्वास्थ्य जाँच गरिएको थियो। उनीहरुमध्ये ती महिलामा मात्रै मंगलवार बेलुका कोरोना पोजेटिभ देखिएको थियो।

पुख्र्यौली घर डडेल्धुरा भएका उनीहरु पछिल्लो समय कञ्चनपुर सरेका थिए। तर हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका– ९ मा बस्दै आएका छन्। बेदकोट नगरपालिका–१० हरपाल गाउँमा उनको परिवारमा हाल पाँच सदस्य रहेका छन्।

कोरोना संक्रमित महिलाको सम्पर्कमा आएका उनको परिवारका सदस्य, छिमेकी, अटो चालकसहित गरी ३० जनाको पीसीआर परीक्षणको तयारी भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड–१९ फोकल पर्सन भट्टले बताए।

‘संक्रमितको सम्पर्कमा आएकाहरु झण्डै ३० जनाको पीसीआर परीक्षणको गर्न लागिएको छ, त्यसका लागि किट माग गरिएको छ’ उनले भने, ‘लकडाउनको पालना गरी संक्रमित महिला घरभित्रै बसेकी थिइन।’ संक्रमित महिला अहिले टेकु अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छिन्। उनको अवस्था सामान्य छ।

कञ्चनपुरस्थित घरमा बसाईको बेला उनमा कुनै लक्षण देखिएको थिएन। काठमाडौंमा स्वास्थ्य चेकजाँचका क्रममा कोरोना संक्रमण देखिएको हो। यता, सुदूरपश्चिममा भने पाँच जनामा कोरोना संक्रमण देखिएको थियो, पाँचै जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

काठमाडौँमा कोरोना संक्रमण देखिएकी महिलाको कञ्चनपुर ‘कनेक्सन’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .