साहित्यकार पारिजातको ९२औँ जन्मजयन्तीका अवसरमा ‘पारिजात स्मारिका’ लोकार्पण गरिएको छ।
पारिजात स्मृति केन्द्र काठमाडौँको आयोजनामा एक कार्यक्रमबीच प्राडा वासुदेव त्रिपाठी, डा.महेश मास्केलगायत साहित्यकार तथा विशिष्ट व्यक्तिहरूले संयुक्त रूपमा उक्त स्मारिका लोकार्पण गरेका हुन्।
कार्यक्रममा पारिजातको जीवन, साहित्यिक योगदान र समकालीन नेपाली साहित्यमा उनले पुर्याएका प्रभावका बारेमा चर्चा गरिएको थियो।
स्मारिका लोकार्पण गर्दै प्राडा त्रिपाठीले नेपाली साहित्यको इतिहासमा पारिजातको योगदान अत्यन्त महत्त्वपूर्ण र अविस्मरणीय रहेको बताए। पारिजातले लेखेको शिरीषको फूल उपन्यास आजसम्म पनि नेपाली साहित्यका पाठक र समालोचकबीच चर्चित र लोकप्रिय रहेको उनको भनाई थियो।
त्यसैगरी, डा मास्केले पारिजात केवल साहित्यकार मात्र नभइ सामाजिक चेतना जगाउने प्रगतिशील चिन्तक भएको बताए। पारिजातका रचनाले नेपाली समाजमा समानता, स्वतन्त्रता र मानवताको मूल्यलाई स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाई थियो।
कार्यक्रममा सहभागी विभिन्न साहित्यकार, लेखक तथा स्रष्टाहरूले पारिजातको साहित्यिक योगदानको चर्चा गरे।
साहित्यकार पारिजातले आफ्नो लेखनमार्फत समाजका पीडा, सङ्घर्ष र मानवीय भावनालाई सशक्त रूपमा प्रस्तुत गरेको वक्ताहरूको भनाइ थियो।
Shares

प्रतिक्रिया