समाज


बलात्कारमा संलग्नलाई कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी

बलात्कारमा संलग्नलाई कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी

नेपालखबर
फागुन २८, २०८२ बिहिबार १७:१८, काठमाडौँ

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने जघन्य अपराधका दोषीलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न राज्य संयन्त्रले तदारुकता देखाउनुपर्ने बताएकी छन्। 

बिहीबार ११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मोतिदेवी स्मृति केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै बोल्दै पूर्वराष्ट्रपति भण्डारीले नेपाली महिला अझै पनि सुरक्षित र सम्मानित रूपमा बाँच्न पाउने आधारभूत मानव अधिकारबाट वञ्चित हुनुपरेकोमा चिन्ता व्यक्त गरिन्। ‘बलात्कार र हत्या जस्ता जघन्य अपराधमा संलग्न व्यक्तिहरू विरुद्ध हदसम्मको कानुनी कारबाही गर्न राज्यले तदारुकता देखाउनु आवश्यक छ। यसका लागि नागरिक समाज र महिला संगठनहरुले निरन्तर आवाज उठाइरहनु अपरिहार्य छ,’ भण्डारीले भनिन्। 

समाजमा बढ्दै गएको घरेलु हिंसा, एसिड आक्रमण, यौन दुर्व्यवहार, बलात्कार तथा हत्या जस्ता घटनाप्रति लक्षित गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्ता अमानवीय कार्यले सिंगो समाजलाई नै कलंकित बनाएको बताइन्। अपराधीले उन्मुक्ति पाउने वा कानुनी छिद्रको प्रयोग गरेर उम्कने अवस्थाको अन्त्य हुनुपर्नेमा उनले जोड दिइन। 

राज्यको ध्यानाकर्षण गराउन र पीडितलाई न्याय दिलाउन नागरिक समाज र महिला अधिकारवादी संगठनको भुमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो। ‘आज हामीले भूमिगत राजनीतिमा संलग्न अग्रज महिलाको शाहस र समर्पणबाट प्रेरणा लिँदै नयाँ पुस्तालाई समेत न्याय, समानता र स्वतन्त्रताको मार्गमा अगाडि बढाउन प्रेरित गर्नुपर्छ भन्ने मलाई लाग्दछ,’ उनले भनिन्, ‘शाहसी र हिम्मतिला महिलाले नेपाली समाजको अग्रगति र प्रगतिशील रुपान्तरणका लागि भूमिगत राजनीति मार्फत पुर्‍याउनुभएको अतुलनीय योगदानको सम्मान, अभिलेखन तथा प्रकाशनमार्फत न्याय र समानताको पक्षमा निरन्तर सक्रिय रहन नयाँ पुस्तालाई समेत प्रेरणा मिल्नेछ भन्ने मैले अपेक्षा गरेको छु।’

विगतमा महिला अधिकारका लागि लडेका योद्धाको स्मरण गर्दै उनले नयाँ पुस्ताले पनि न्याय, समानता र स्वतन्त्रताको पक्षमा निरन्तर खबरदारी गरिरहनुपर्ने आवश्यकता औंल्याइन्। महिला सुरक्षाको प्रत्याभुतिविना समृद्ध समाजको निर्माण असम्भव रहेको बताउँदै उनले न्याय प्रणालीलाई छिटो, छरितो र पीडितमैत्री बनाउन सरोकारवालाको ध्यानाकर्षण गराइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad