नेपालभन्दा बढी कोरोना कहर भारतमा छ। तराईका जिल्लाहरुमा देखिएका कतिपय कोरोना भाइरस (कोडिभ–१९) संक्रमित भारतबाटै भित्रिएका हुन्।
अन्य ठाउँबाट आउने–जाने गर्नका लागि मात्र होइन नेपालका २६ वटा जिल्लासँग भारतका प्रान्त जोडिन्छन्।
सामान्य अवस्थामा पश्चिम बंगाल, बिहार र उत्तर प्रदेशसँग नेपालीको आउने–जाने बाक्लै हुनेगर्छ। कोरोना लकडाउनपछि मुख्य नाका बन्द गरिएका छन्।
सोमबार दिउँसोसम्म भारतमा २ हजार २०६ जना व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ। त्यहाँ संक्रमित हुने ६७ हजार १५२ जना छन्। ती मध्ये उत्तर प्रदेशमा ७४ जनाको मृत्यु भएको छ। संक्रमित ३ हजार ४६७ पुगेका छन्।
पश्चिम बंगाल र बिहारमा पनि कोरोना संक्रमित बढिरहेका छन्। बिहारमा कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ र ६९६ संक्रमित रहेको भारतीय स्वास्थ्य मन्त्रालयले सोमबार दिउँसो जनाएको छ।
पश्चिम बंगलमा सोमबार दिउँसोसम्म कोरोनाबाट १८५ जनाको मृत्यु भएको छ। १९३८ जना संक्रमित छन्। भारतीय स्वास्थ्य मन्त्रालयले भनेको छ, ‘पश्चिम बंगालमा कोरोना लागेर ४१७ जना निको भएका छन्।’
पटनासम्म आइपुग्दैछ रेल
कोरोना लकडाउनका कारण ५० दिन ठप्प भएको भारतीय रेल्वे सेवा मंगलबारदेखि आंसिक सञ्चालनमा आउँदैछ। भारतीय सञ्चार माध्यमहरुका अनुसार मंगलबार १५ वटा रेल दिल्लीबाट छुट्नेछन्। ती मध्ये एउटा बिहारको राजधानी पटना पनि आउनेछ। पटना नेपालबाट नजिक पर्ने भारतीय सहर हो।

प्रतिक्रिया