हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार यतिबेला (शनिबार बिहान) कोसी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रको आकाशमा साधारणतया बादल छ भने बाँकी प्रदेशको आकाशमा आंशिक बादल लागेको छ। अनि तराईका केही स्थान तथा उपत्यकाहरूमा हुस्सु छ।
दिउँसो र रातिचाहिँ कस्तो होला त मौसम? यस्तो छ मौसम महाशाखाको प्रक्षेपण:
दिउँसो: तराईको मौसम मुख्यतया सफा रहनेछ। कोसी प्रदेशका पहाडी तथा हिमाली भूभागसहित बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना छ। बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका पनि एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
यसैबिच आज काठमाडौँ उपत्यकामा पनि छिटपुट पानी पर्न सक्ने तर सम्भावना कम रहेको महाशाखाका मौसमविद् बिनु महर्जनले जानकारी दिइन्।
‘अपराह्नतिर काठमाडौँ उपत्यकाका एक-दुई ठाउँमा छिटपुट पानी पर्ला कि’, उनले नेपालखबरसँग भनिन्, ‘तर सम्भावना हिजोभन्दा कम देखिएको छ।’
राति: तराईका थोरै स्थानमा तुँवालो रहनेछ। कोसी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ।
थप विवरण

Shares

प्रतिक्रिया