समाज


१६ हजार विश्वविद्यालयको दौडमा कहाँ छ त्रिवि? र्‍याङ्किङ खस्किए पनि चिकित्साशास्त्रको 'चामत्कारिक' फड्को

१६ हजार विश्वविद्यालयको दौडमा कहाँ छ त्रिवि? र्‍याङ्किङ खस्किए पनि चिकित्साशास्त्रको 'चामत्कारिक' फड्को

महाराजगञ्जस्थित मेडिकल कलेजका विद्यार्थी ल्याबमा


नेपालखबर
फागुन १५, २०८२ शुक्रबार १४:३२, काठमाडौँ

विश्वका विश्वविद्यालयहरूको गुणस्तर मापन गर्ने प्रतिष्ठित संस्था 'टाइम्स हायर एजुकेसन' (टिएचइ) ले सन् २०२६ को वरीयता सार्वजनिक गरेको छ। जसमा नेपालको सबैभन्दा पुरानो र ठूलो त्रिभुवन विश्वविद्यालय (त्रिवि) विश्वका उत्कृष्ट १५०१+ समूहमा अटाएको छ।

विश्वभरका १६ हजारभन्दा बढी विश्वविद्यालयबीचको यो प्रतिस्पर्धामा त्रिविको समग्र वरीयता खस्किए पनि चिकित्साशास्त्र (मेडिकल साइन्स) ले भने अप्रत्याशित फड्को मारेको छ।

मेडिकलमा भारतलाई उछिन्दै
समग्र र्‍याङ्किङमा पुछारतिर देखिए पनि विषयगत रूपमा त्रिविको चित्र फरक र उत्साहजनक छ। चिकित्सा तथा स्वास्थ्य शिक्षातर्फ त्रिवि विश्वकै ६०१–८०० समूहमा पर्न सफल भएको छ। यो स्थान दक्षिण एसियाका धेरै विश्वविद्यालयका लागि ईर्ष्यालाग्दो उपलब्धि हो।

तथ्याङ्कअनुसार भारतका मात्र ६ वटा मेडिकल कलेज त्रिविभन्दा अगाडि छन्, बाँकी सबैलाई त्रिविले पछि पारेको छ। यद्यपि, नेपालका त्रिवि बाहेकका अन्य विश्वविद्यालयको चिकित्सा शिक्षाको अवस्था भने अझै नाजुक देखिन्छ। यस्तै, इन्जिनियरिङ (आईओई) को वरीयता १ हजारको वरपर छ।

सन् २०१९ देखि वरीयता प्रणालीमा भाग लिन थालेको त्रिवि सुरुका वर्षहरूमा १ हजारभित्रै थियो। तर, २०२४ देखि यो र्‍याकिङ खस्किएर १५०१+ को वरिपरि घुमिरहेको छ। त्रिवि सधैँ तल्लो स्तरमा पर्नुका केही 'क्रोनिक' समस्या यस्ता छन्।

राजनीतिक हस्तक्षेप र तालाबन्दी: उपकुलपति प्रा.डा. दीपक अर्याल स्वीकार्छन्— 'हामीले गतिविधि पेस गर्यौँ, तर चाहेजति सुधार भएन। कक्षाकोठा र अनुसन्धानको संस्कृतिमै आमूल परिवर्तन चाहिन्छ।'

अनुसन्धानमा बजेट खडेरी: त्रिविको अधिकांश बजेट तलब र प्रशासनिक खर्चमा सकिन्छ। अनुसन्धानका लागि छुट्याइने रकम नगन्य छ।

भीडभाडयुक्त कक्षाकोठा: त्रिविमा एउटै हलमा सयौँ विद्यार्थी हुनु र्‍याङ्किङ घट्नुको मुख्य कारण हो।

हार्वर्ड र अक्सफोर्डसँग तुलना: आकाश-जमिनको फरक
त्रिविलाई हार्वर्ड वा अक्सफोर्डसँग तुलना गर्दा दूरी निकै टाढा देखिन्छ। हार्वर्डजस्ता विश्वविद्यालयसँग अर्बौँ डलरको 'इन्डोमेन्ट फण्ड' हुन्छ, जसले नयाँ आविष्कारमा लगानी गर्छ। त्रिविको आय भनेको सरकारी अनुदान र विद्यार्थीको परीक्षा शुल्क मात्रै हो।

टाइम्स हायर एजुकेसनले मुख्य ५ खम्बामा टेकेर नम्बर दिन्छ: १. शिक्षण (३०%): सिकाइको वातावरण। २. अनुसन्धान वातावरण (३०%): आम्दानी र प्रतिष्ठा। ३. अनुसन्धान गुणस्तर (३०%): साइटेसन (अनुसन्धानको प्रभाव)। ४. अन्तर्राष्ट्रिय दृष्टिकोण (७.५%): विदेशी विद्यार्थी र शिक्षकको संख्या। ५. उद्योगसँग सहकार्य (२.५%): विश्वविद्यालयले उद्योगबाट गर्ने कमाइ।

र्‍याङ्किङ सुधार हुँदा विद्यार्थीले पाउने सीधा फाइदाहरू छन्। विदेश पढ्न जाँदा ‘क्रेडिट ट्रान्सफर’ वा भर्ना पाउन सजिलो हुन्छ। उच्च र्‍याङ्किङ भएका संस्थाका विद्यार्थीलाई विश्वका शीर्ष विश्वविद्यालयले छात्रवृत्तिमा पहिलो प्राथमिकता दिन्छन्। 'हाइ र्‍याङ्किङ' विश्वविद्यालयका स्नातकलाई ठूला कम्पनीले सीधै अन्तर्वार्तामा बोलाउँछन्। र, र्‍याङ्किङ राम्रो भएमा विश्वका नामुद विश्वविद्यालयले त्रिविसँग मिलेर 'एक्सचेन्ज प्रोग्राम' चलाउन रुचि देखाउँछन्।

यसपटक प्रा.डा. नारायण अधिकारीको संयोजकत्वमा बनेको कमिटीले त्रिविका तथ्याङ्कहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा व्यवस्थित रूपमा पेस गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad