ललितपुरको गोदावरीस्थित फूलचोकीको बाक्लो जङ्गलमा हराएका ४४ वर्षीय सोमबहादुर तामाङको पाँचौँ दिनमा सकुशल उद्धार गरिएको छ। ललितपुरको टौखेलबाट बेपत्ता भएका तामाङलाई आइतबार दिउँसो प्रहरी टोलीले फेला पारेको हो।
ऐतिहासिक र धार्मिक महत्त्व बोकेको फूलचोकी जङ्गल पदयात्राका लागि प्रसिद्ध भए पनि यहाँ बर्सेनि मानिसहरू हराउने गरेका छन्। बाक्लो झाडी र कठिन भूगोलका कारण बाटो बिराउँदा कतिपयको ज्यान समेत जाने गरेको विगतका घटनाले देखाउँछन्। पछिल्लो समय वन क्षेत्रमा सुरक्षा सतर्कता बढाइए पनि एक्लै हिँड्नेहरू जोखिममा पर्ने क्रम रोकिएको छैन।
तामाङ हराएको खबर सार्वजनिक भएपछि सामाजिक सञ्जाल फेसबुक र टिकटकमा उनको अवस्थालाई लिएर विभिन्न अड्कलबाजी र चिन्ता व्यक्त गरिएका थिए। धेरैले फोटो सेयर गरेका थिए भने टिकटकमा कतिपयले 'जङ्गली जनावरको आक्रमण भएको हुन सक्ने' भन्दै भिडिओहरू पोस्ट गरेका थिए। तर, आइतबार उनको सकुशल उद्धार भएको खबर सार्वजनिक भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्रहरी र स्थानीयको सक्रियताको प्रशंसा गरिरहेका छन्।
मान्छे कराएको आवाज आएपछि टोली पुग्यो
जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होविन्द्र बोगटीले उद्धार कार्यबारे जानकारी दिँदै स्थानीयको सूचनाले ठुलो मद्दत पुगेको बताए।
उनले भने, “आइतबार दिउँसो जङ्गलमा मान्छे कराएको आवाज आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसलगत्तै खटिएको ललितपुर प्रहरीको टोलीले खोजी गर्दा उनलाई फेला पारेको हो। पाँच दिनसम्म जङ्गलमै रहेकाले उनी केही कमजोर देखिए पनि अवस्था सामान्य छ।”
उद्धार गरिएका तामाङलाई तत्कालै एम्बुलेन्स मार्फत गोदावरीस्थित सामुदायिक अस्पताल पुर्याइएको छ। प्रहरीका अनुसार लामो समय भोकै र चिसोमा रहेका कारण उनको स्वास्थ्य परीक्षण भइरहेको छ।
Shares

प्रतिक्रिया