जनक शिक्षा सामग्री केन्द्र सानोठिमी भक्तपुरले नयाँ शैक्षिक सत्र सुरु हुनुअगाडि नै सबै जिल्लामा पाठ्यपुस्तक पुर्याउने जनाएको छ। केन्द्रले फागुन महिनाभरि पाठ्यपुस्तक छापेर चैत्र अन्तिमसम्म ढुवानी गरिसक्ने जनाएको हो।
आगामी वैशाख २ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुँदैछ। केन्द्रले शैक्षिक सत्र सुरु हुनु २ महिनाअघि नै १ करोड ५० लाख थान पाठ्यपुस्तकको छपाइ सकेको जनाएको छ।
सरकारले निःशुल्क पाठ्यपुस्तकका लागि वार्षिक २ अर्ब रकम खर्च गर्छ। पाठ्यपुस्तक छपाइको जिम्मा सरकारले जनक शिक्षालाई दिँदै आएको छ। तर यस वर्ष आगामी फागुन २१ गते तोकिएको निर्वाचनका कारण पाठ्यपुस्तक विद्यार्थीको हातमा ढिला पुग्ने आशंका गरिएको छ।
मतपत्र छपाइका कारण विद्यालय स्तरीय एसईई परीक्षाको प्रश्नपत्र छपाइ नसक्ने भन्दै एसईई परीक्षा १० दिन पछि सारिएको छ। तर जनक शिक्षाले भने मतपत्र, प्रश्नपत्र र पुस्तक छापिने मेसिन फरक–फरक भएकाले पाठ्यपुस्तक छपाइमा ढिलाइ नभएको दाबी गरेको हो।
जनक शिक्षाका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले मतपत्र छपाइले पाठ्यपुस्तक छपाइमा असर नगरेको बताए। उनले पाठ्यपुस्तक छाप्ने मेसिन र मतपत्र छाप्ने मेसिन फरक भएकाले पुस्तक छपाइ नरोकिएको जनाए।
यस वर्ष जनक शिक्षाले कक्षा ३ र ५ देखि १० सम्म १ करोड ७० लाख थान पुस्तक छपाइको जिम्मा पाएको छ। सरकारले कक्षा १, २ र ४ कक्षाको पुस्तक छपाइको जिम्मा भने निजीलाई दिएको छ।
प्रबन्ध निर्देशक पौडेलले हालसम्म १ करोड ५० लाख थान पुस्तक छपाइ सकिएको जानकारी दिए। उनले २० लाख थान पुस्तक फागुन महिनाभरि सक्ने बताए।
‘यस वर्ष जनक शिक्षाले कक्षा ३ र ५ देखि १२ सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मेवारी पाएको छ। नयाँ शैक्षिक सत्रका लागि १ करोड ७० लाख थान पुस्तक छपाइ गर्नुपर्ने हो, त्यसमध्ये १ करोड ५० लाख थान अर्थात ९० प्रतिशत पुस्तक छापिसक्यौँ,’ उनले भने, ‘अब बाँकी २० लाख थान फागुन महिनाभित्रै छपाइ सकेर पठाउँछौँ।’
उनले फागुन ११ गतेदेखि एसईईको प्रश्नपत्र छपाइका कारण दिनमा ८० हजार पाठ्यपुस्तक छाप्न सकिने जनाए।
‘मतपत्र छपाइ सकिसकेका छौँ, अब एसईईको प्रश्नपत्र र पाठ्यपुस्तक छपाइ सक्छौँ,’ उनले भने, ‘फागुन ११ गतेदेखि एसईईको प्रश्नपत्र छपाइ सुरु गर्छौँ। फागुन अन्तिमसम्म पाठ्यपुस्तक छपाइसक्ने तयारी गरेका छौँ।’
जनक शिक्षामा ४५० जना जनशक्ति छन्। जसमा २५० जना जनशक्ति निर्वाचनको मतपत्र छपाइमा प्रयोग गरिएको थियो। प्रबन्ध निर्देशक पौडेलले अरु जनशक्ति दैनिक पाठ्यपुस्तक छाप्नेमा प्रयोग गरिएको बताए।
जनक शिक्षाले एसईईको उत्तरपुस्तिका छाप्न २५ देखि ३० जना जनशक्ति मात्र दैनिक प्रयोग गरिने जनाएको छ।
एसईईको प्रश्नपत्र छपाइ चैत्र ५ गतेसम्म सक्ने प्रबन्ध निर्देशक पौडेलले बताए।
राष्ट्रिय परीक्षा बोर्डले चैत्र १९ गतेदेखि एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ।
‘वैशाखअघि नै विद्यार्थीको हातमा पुस्तक हुन्छ’
प्रबन्ध निर्देशक पौडेलले शैक्षिक सत्र सुरु हुनुअगाडि नै विद्यालयमा पाठ्यपुस्तक पुग्ने बताए। पाठ्यपुस्तक अभाव नहुने र वितरण प्रणाली प्रभावकारी बनाएर शैक्षिक सत्र सुरु हुनुअगावै जिल्ला–जिल्लामा पुस्तक पुग्ने उनको दाबी छ।
उनले निर्वाचनको काम सकिएकाले अब पाठ्यपुस्तक र प्रश्नपत्र छाप्ने जनाए। जनक शिक्षाले गत वर्ष १ करोड ८० लाख थान पुस्तक छापेकामा यस वर्ष विद्यार्थी संख्या कम भएकाले १० हजार थान पुस्तक कम छापिने जनाएको छ।
छापिसकेका पुस्तक दुर्गम जिल्लालाई प्राथमिकतामा राखेर पठाउने काम भइरहेको जनक शिक्षाले जनाएको छ। जनक शिक्षाको सात वटा प्रादेशिक कार्यालय छ। साथै नेपालगञ्जमा थप १ कार्यालय छ। त्यहाँबाट जिल्ला–जिल्लामा पुस्तक व्यापारीहरूले विद्यालयमा पुर्याउँछन्।
केन्द्रका प्रबन्ध निर्देशक पौडेलले भने, ‘यस वर्ष योजनाअनुसार नयाँ शैक्षिक सत्रको सुरुआतमा विद्यार्थीको हात–हातमा पुस्तक पुग्नेगरी केन्द्रका ८ शाखा कार्यालयमा पुस्तक पुर्याइसकेका छौँ, देशभरका वितरण केन्द्रमार्फत विद्यार्थीको हात–हातमा पुस्तक पुर्याउँछौँ।’
केन्द्रका अनुसार जनक शिक्षाका केन्द्रीय कार्यालय बजार व्यवस्था विभाग, बागमती प्रदेश कार्यालय भरतपुर, गण्डकी प्रदेश कार्यालय पोखरा, कोसी प्रदेश कार्यालय विराटनगर, मधेस प्रदेश कार्यालय जनकपुरबाट मधेसका जिल्लाका विद्यालयमा पुस्तक जाने छ।
यस्तै लुम्बिनी प्रदेश कार्यालय सुर्खेत, सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी र प्रादेशिक प्रेस नेपालगञ्जमा पुस्तक पठाइ त्यहाँबाट पनि वितरण गर्ने जनाइएको छ। प्रबन्ध निर्देशक पौडेलले फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु हुने हिमाली जिल्लामा पाठ्यपुस्तक वितरण भइरहेको बताए।
उनले हिमाली जिल्लाका लागि पाठ्यपुस्तक पुर्याउन सुरु भइरहेको जनाए।
‘मनाङ, मुस्ताङमा पोखराको प्रादेशिक कार्यालय र कर्णालीको सुर्खेत प्रादेशिक कार्यालयबाट हुम्ला, डोल्पा, मुगुलगायतका जिल्लामा पुस्तक जान्छन्,’ उनले नेपालखबरलाई भने, ‘सातै प्रदेशका कार्यालयमा पाठ्यपुस्तक पठाएका छौँ। त्यहाँबाट विद्यालयमा लगिन्छ।’
उनले २० लाख थान पुस्तक छापेर समयमा नै विद्यार्थीको हातमा पुर्याने दाबी गरे। हिमाली र केही दुर्गम पहाडी जिल्लामा पुस्तक पठाउन सुरु भइसकेको उनको भनाइ छ।
दुई वर्षयता नयाँ शैक्षिक सत्र सुरु हुनुअगाडि नै विद्यार्थीले पाठ्यपुस्तक पाउँदै आएका छन्।
Shares

प्रतिक्रिया