सर्लाहीमा गएराति गोली प्रहार गरेर सव-इन्जिनियर प्रमोदकुमा यादवको हत्या गर्ने व्यक्तिलाई अझै प्रहरीले पक्राउ गर्न सकेको छैन।
जिल्ला सदरमुकाम मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत सिरहाको सुखीपुर नगरपालिका ६ वैशाखा घर भई मलंगवा-१० देबीटोलमा डेरा गरि बस्ने इन्जिनियर ३६ वर्षीय यादवको गएराति हत्या भएको हो।
नचिनेका मान्छेले इन्जिनियर यादवलाई डेरा कोठामै गएर छात्तीमा गोली प्रहार गरेका हुन्।
गोली प्रहारबाट गम्भीर घाइते भएका यादवलाई तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
अपिरिचित व्यक्तिले इन्जिनियर यादवलाई फोन गरे डेरा बाहिर बोलाएर गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईले जानकारी दिए।
यादवको शव अहिले पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ। उनी पत्नी र २ वर्षकी छोरीसँगै डेरामा बस्दै आएका थिए।
‘घटनापछि रातिदेखि नै नेपाल–भारत सीमा क्षेत्रमा कडाइ गरी अनुसन्धान अघि बढाएका छौँ,’ डीएसपी राईले केही बेरअघि नेपालखबरसँग भने, ‘अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन। हामी सुक्ष्म अनुसन्धानमै छौँ।’
यादवलाई गोली प्रहार गर्नुको कारण पनि नखुलेको प्रहरीले जनाएको छ। यादवको हत्यापछि प्रहरीले ठाउँ-ठाउँमा सर्च अभियान तीब्र पारेको छ।
यादव करिब १ वर्षदेखि पूर्वाधार विकास कार्यालय मलंगवामा कार्यरत थिए। इन्जिनियर यादवको हत्यापछि सर्लाहीमा त्रास सिर्जना भएको छ।
Shares

प्रतिक्रिया