युलेन्स एजुकेसन फाउन्डेसन (यूईएफ) ले नेतृत्व परिवर्तन गरेको छ।
फाउन्डेसनका सम्पूर्ण सदस्य र कर्मचारीको उपस्थितिमा हालै भएको ‘टाउन हल’ (भेला) ले ‘बोर्ड अफ ट्रस्टिज’मा नयाँ सदस्य नियुक्ति गरेको हो।
युलेन्स एजुकेसन फाउन्डेसनका संस्थापक अध्यक्ष सोम पनेरुले जारी गरेको विज्ञप्तिअनुसार ‘बोर्ड अफ ट्रस्टिज’का नवनियुक्त सदस्यहरूमा काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. भोला थापा, नेपाल राष्ट्र बैंकमा तीन दशकभन्दा बढी अनुभव संगालेका वरिष्ठ बैंकिङ विज्ञ प्रद्युम्न कुमार खनाल र युलेन्स स्कुलका अभिभावकसमेत रहेका शैक्षिक तथा सुरक्षा विज्ञ डा. मनिष थापा छन्।

यसैगरी भेलाले ललितपुरस्थित युलेन्स स्कुलको प्रधानाध्यापक (प्रिन्सिपल) मा एकता राणा नियुक्त गरेको छ। बीस वर्षअघि युलेन्स स्कुल ललितपुरमा विषय शिक्षकका रूपमा प्रवेश गरेकी राणाले विद्यालय एकाइ संयोजक र उपप्रधानाध्यापकका रूपमा काम गरिसकेकी छन्। साथै उनी ‘युलेन्सको शैक्षिक पद्धति र दर्शन’का विज्ञ हुन्।
बैंक स्ट्रिट कलेज अफ एजुकेसनबाट शिक्षा शास्त्रमा स्नातकोत्तर राणा ‘प्रगतिशील शिक्षा शास्त्र’मा दक्खलका लागि परिचित छिन्।

पूर्वप्रिन्सिपल मेदिनबहादुर लामिछाने अब युलेन्स एजुकेसन फाउन्डेसनको प्रमुख प्राज्ञिक अधिकारीको भूमिका निर्वाह गर्नेछन्। यसअन्तर्गत उनले फाउन्डेसनअन्तर्गतका शैक्षिक कार्यक्रममा सहयोग पुर्याउनेछन्।
टाउन हलमा बोल्दै युलेन्स स्कुलका नयाँ प्रिन्सिपल एकता राणाले विद्यालयको सहयोगात्मक संस्कृतिको सराहना गर्दै यसको निरन्तरता र थप समृद्ध बनाउने कार्ययोजनाप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरिन्।
यस्तै पूर्वप्रिन्सिपल लामिछानेले विद्यालयमा आफ्नो लामो आबद्धता स्मरण गर्दै अबका दिनमा पाठ्यक्रम विकास, शिक्षण अभ्यास र शिक्षकहरूको व्यावसायिक विकासमा केन्द्रित रहेर फाउन्डेसनको योजनाअनुसार थप सुदृढ, आत्मविश्वासी र सिर्जनात्मक शिक्षालय सञ्चालनमा योगदान रहने प्रतिबद्धता जनाए।

भेलाले दुई दशकसम्म प्रिन्सिपलका रूपमा कुशल नेतृत्व गरेकामा लामिछानेलाई धन्यवाद दिँदै प्रमुख शैक्षिक अधिकारीका रूपमा उनको थप योगदानले फाउन्डेसन लाभान्वित हुने अपेक्षा गरेको छ।
यस्तै भेलाले फाउन्डेसनअन्तर्गतका विद्यालय व्यवस्थापन समितिको नयाँ अध्यक्ष चयन गरेको छ। भेलाले प्रा.डा. भोला थापालाई विद्यालय व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारी सुम्पेको हो।
युलेन्स एजुकेसन फाउन्डेसन कम्पनी रजिस्ट्रारको कार्यालयमा नाफा वितरण नगर्ने कम्पनीको रूपमा दर्ता भएको संस्था हो। दक्षिण एसियाकै उत्कृष्ट शैक्षिक प्रतिष्ठान बनाउने सोचका साथ सन् २००६ मा स्थापित युलेन्स एजुकेसन फाउन्डेसनले युलेन्स स्कुल ललितपुर, युलेन्स स्कुल काठमाडौँ, युलेन्स लिप, युलेन्स कलेज र युलेन्स शिक्षक तालिम केन्द्रजस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ।
फाउन्डेसनका अनुसार जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते खुमलटारस्थित युलेन्स स्कुलका ५ वटा भवन, बाँसबारीस्थित ३ वटा भवन र काभ्रेको नालास्थित विद्यालयको आउटडोर लर्निङ सेन्टर ध्वस्त पारिएका थिए। जसबाट १ अर्ब २५ करोड रुपैैयाँ बराबरको क्षति भएको थियो।
तर अहिले युलेन्स स्कुल काठमाडौँको भौतिक पूर्वाधार पूर्ण रूपमा पुनर्निर्माण गरी पूर्ववत् अवस्थामै सञ्चालन गरिएको छ। यस्तै युलेन्स स्कुल ललितपुरमा भौतिक पुनर्निर्माण आशिंक मात्र सकिए पनि केही भवनमा कक्षा सञ्चालन गर्न सकिने अवस्थामा आइसकेको फाउन्डेसनले जानकारी दिएको छ। केही भवनको पुनर्निर्माण भने जारी छ।
यस्तै युलेन्स कलेज, ग्याप इयर कार्यक्रम र शिक्षक तालिम केन्द्रजस्ता अन्य पनि क्रमश: पुनः सञ्चालन गर्ने तयारी भइरहेको छ।
यस्तै खरानी बनाइएका सवारीसाधनलाई वातावरणमैत्री विद्युतीय बसहरूद्वारा प्रतिस्थापन गर्दै आगामी शैक्षिक सत्रदेखि विद्यार्थीहरूको परिवहन सुविधालाई व्यवस्थित गर्न प्रक्रिया अगाडि बढाइएको पनि फाउन्डेसनले जनाएको छ।
Shares

प्रतिक्रिया