मंगलबार रामेछापमा भएको बस दुर्घटनामा परेर दुई बालकसहित तीनजना अझै बेपत्ता भएको खुलेको छ।
काठमाडौँबाट ओखलढुंगा जाँदै गरेको बस मंगलबार तामाकोसी नदीमा खस्दा १२ जनाको मृत्यु भएको थियो भने सात जना घाइते भएका छन्। मृतक सबैको सनाखत भइसकेको छ।
घटनामा थप तीनजना बेपत्ता रहेको भनेर प्रहरीमा जानकारी आएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता इन्सपेक्टर राजन अधिकारीले जानकारी दिए।
‘हामीलाई पीडितका आफन्तले बसमा सवार थप तीनजना बेपत्ता रहेको जानकारी दिनु भएको छ,’ उनले नेपालखबरसँग भने, ‘पीडित परिवारले जानकारी दिएपछि हामी आज बिहानैदेखि गोताखोरको सहायतामा बेपत्ताहरुको खोजी गरिरहेका छौँ।’
बेपत्ता हुनेमा विशाल सुनुवार, रोनिस तामाङ र कृचन तामाङ छन्। रोनिस ८ र कृचन ९ वर्षका बालक हुन्। रोनिकी आमा रमिला र कृचनकी आमा ताराको दुर्घटनामा निधन भइसकेको छ। बेपत्ता बालक पनि आमासँगै यात्रामा रहेका आफन्तले बताएका छन्।
हिजो सनाखत नभएका एक यात्रुको पनि आज सनाखत भएको इन्सपेक्टर अधिकारीले बताए। आज सनाखत हुने मृतक रामेछापको उमाकुण्ड गाउँपालिका ६ का ५७ वर्षीय धर्मसिंह सुनुवार हुन्।
मृतकका आफन्तले दुर्घटनामा ज्यान गुमाउने कसैको पनि शव बुझ्न मानेका छैनन्। चालकको लापरबाहीले दुर्घटना भएको भन्दै उनीहरुले शब बुझ्न नमानेका प्रहरीले जनाएको छ।
‘उहाँहरुले उचित क्षतिपूर्तिको माग गर्दै शव बुझ्न मान्नु भएको छैन,’ अधिकारीले भने, ‘सहमतिको लागि अहिले जिल्ला प्रशासन कार्यालय रामेछापमा छलफल भइरहेको छ।’
छलफलमा रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, प्रहरी प्रमुख डीएसपी भोलाकुमार भट्ट, अरनिको यातायातका प्रतिनिधि र मृतकका आफन्त सहभागी छन्।
मृतक १२ जनाकै शव मन्थली अस्पताल र रामेछाप जिल्ला अस्पतालमा राखिएको छ। मृतकका परिवारलाई उचित क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने अडान उनीहरुको छ।
सात जना घाइतेमध्ये ललितपुरको ग्वार्कोस्थित बीएण्डबीमा २ जना, धुलिखेल अस्पतालमा ३ जना र भक्तपुरस्थित इन्टरनेशनल अस्पतालमा २ जनाको उपचार जारी छ।
दुर्घटनामा चालक पनि सामान्य घाइते भएका थिए।
मंगलबार बिहान काठमाडौँबाट ओखलढुंगाका लागि छुटेको बा.प्र ००१–०५ ख ९९७५ नम्बरको पूर्व अरनिको यातायात प्रालिको बस मन्थली नगरपालिका ६ बेनीघाट पुलनजिकैबाट तामाकोसी नदीमा खसेको थियो।
पुष्पलाल सडकखण्ड अन्तरर्गत मन्थली–खुर्कोट हुँदै ओखलढुंगातर्फ गइरहेको बस बिहान १०ः४० बजे दुर्घटना भएको थियो।
दुर्घटनालगतै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेको थियो।
दुर्घटनामा चालकसहित ८ जना घाइते भएका छन्। चालक भने सामान्य उपचारपछि डिस्चार्ज भएका छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यी हुन् मृतक १२ जना
१) जिल्ला दोलखा भिमेश्वर नगरपालिका-७ बस्ने वर्ष अन्दाजी २५की बबि तामाङ।
२) जिल्ला दोलखा भिमेश्वर नगरपालिका- ८ बस्ने वर्ष अन्दाजी ६० को मान बहादुर तामाङ।
३) जिल्ला रामेछाप लिखु तामाकोशी गाउँपालिका-४ बस्ने वर्ष अन्दाजी २८ को दिपेश बस्नेत।
४) जिल्ला रामेछाप लिखु तामाकोशी गाउँपालिका-७ बस्ने वर्ष अन्दाजी ३५ की सानुमाया तामाङ।
५) जिल्ला रामेछाप लिखु तामाकोशी गाउँपालिका-७ बस्ने वर्ष अन्दाजी ३१ की तारा तामाङ।
६) जिल्ला रामेछाप लिखु तामाकोशी गाउँपालिका-७ बस्ने वर्ष अन्दाजी ३६ को भिम बहादुर तामाङ।
७) जिल्ला रामेछाप लिखु तामाकोशी गाउँपालिका-७ बस्ने वर्ष अन्दाजी. १६ की रमिता तामाङ।
८) जिल्ला रामेछाप लिखु तामाकोशी गाउँपालिका-४ बस्ने वर्ष अन्दाजी २५ को दिपेन्द्र बस्नेत।
९) जिल्ला रामेछाप लिखु तामाकोशी गाउँपालिका-६ बस्ने वर्ष अन्दाजी ४५ की मान कुमारी बरुवाल।
१०) जिल्ला रामेछाप उमाकुण्ड गाउँपालिका-६ बस्ने अन्दाजी वर्ष २४ को विशाल सुनुवार।
११) जिल्ला सिन्धुली गोलन्जोर गाउँपालिका- ६ बस्ने वर्ष अन्दाजी ३४ को शिव श्रेष्ठ।
१२) उमाकुण्ड गाउँपालिका ६ का ५७ वर्षीय धर्मसिंह सुनुवार।
यी हुन् ८ जना घाइते
घाइते हुनेमा रामेछापको मन्थली नगरपालिका–१२ की ३३ वर्षीया देवकी खड्का, सोही नगरपालिका–११ का ३१ वर्षीय सुशान्त थापा मगर, रामेछापकै उमाकुण्ड गाउँपालिका–५ का ५२ वर्षीय सोनातेन्जी शेर्पा, ६ वर्षीया निष्मा शेर्पा, रामेछापको लिखुतामाकोसी गाउँपालिका ४ का ७१ वर्षीय ओलकबहादुर थापा, रामेछापकै खाँडादेवी गाउँपालिका ३ का २१ वर्षीय समिर श्रेष्ठ, दोलखाको भिमेश्वर नगरपालिका–७ की १७ वर्षीया निलिमा तामाङ्ग र ओखलढुंङ्गाको खिजिदेम्वा गाउँपालिका २ का ४५ वर्षीय जयबहादुर तामाङ्ग रहेका छन्।
Shares

प्रतिक्रिया