समाज


मेघालयको कोइलाखानीमा ज्यान गुमाएका ३ नेपालीको शव ल्याउन समस्या

मेघालयको कोइलाखानीमा ज्यान गुमाएका ३ नेपालीको शव ल्याउन समस्या

मेघालयमा निधन भएका नरबहादुरकाे पत्नी (बायाँ) र पुनिरामका पत्नीसहितका आफन्त (घरभित्र)।


नेपालखबर
माघ २६, २०८२ सोमबार ९:४७, काठमाडौँ

भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटका घटनामा खोटाङका तीन युवकले ज्यान गुमाएका छन् भने अझै एक जना बेपत्ता भएका छन्। सो घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन्। 

मेघालयस्थित पूर्वी जयन्तीया हिल्समा सञ्चालित अवैध कोइलाखानीमा यही माघ २२ गते विस्फोट हुँदा यहाँको बरापोखरी गाउँपालिका–१ बरापोखरी सालघारीस्थित भञ्ज्याङका २७ वर्षीय पूर्णिराम खपाङ्गी मगर, २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर र ३५ वर्षीय नरबहादुर खपाङ्गी मगरको मृत्यु भएको हो।

कामदार कोइलाखानीभित्र काम गर्दैगर्दा भएको विष्फोटमा परेका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित जोरकाफलका ५० वर्षीय रत्न राई बेपत्ता भएको जानकारी आएको छ। विस्फोटपछि बेपत्ता भएका राईको कोइलाखानीभित्रै जलेर ज्यान गएको हुन सक्ने अनुमान छ। 

मेघालयमासँगै बसेर काम गर्दै आएका भोजपुरका आफन्तका अनुसार रत्न कोइलाखानीभित्र पसेको समयमा विस्फोट भएको खबर आएको दुर्छिमका युवा नेता नेत्रविक्रम राउतले बताए। 

विष्फोटपछि उद्धार गर्नेक्रममा कोइलाखानीभित्र भेटिएका शव आगोले डढेर नचिनिने अवस्थामा रहेको सँगै बस्दै आएका आफन्तले परिवारलाई जानकारी गराएका छन्। 

विष्फोटमा बेपत्ता रत्नको नागरिकता, डायरी र मोबाइल कोठामै भेटिएको छ। कोइलाखानीमा बेपत्ता रत्न रोजगारीका सिलसिलामा गत असोज–९ गते मेघालय गएका थिए। विष्फोटमा गम्भीर घाइते भएका नरबहादुरको उपचारको क्रममा यही माघ२३ गते मृत्यु भएको जानकारी प्राप्त भएको स्थानीय शिवकुमार श्रेष्ठले जानकारी दिए। 

घटना भएकै दिन ज्यान गुमाएका पूर्णिराम र सुरेन्द्र एकै घरका दाजुभाइ भएको स्थानीयवासी इन्द्र लिमेल मगरले जानकारी दिए। 

बिस्फोटमा परेका बरापोखरी गाउँपालिका–१ सालघारीकै ४६ वर्षीय कर्णबहादुर खपाङ्गी मगर, भञ्ज्याङका ४० वर्षीय बमबहादुर खपाङ्गी मगर र उदयपुर साउनेका ४० वर्षीय ललित लुङ्गेली मगर गम्भीर घाइते छन्। 

उनीहरुको मेघालयकै स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको सँगै काम गर्दै आएका राहपोखरीस्थित वालम्पाका ताराबल मगरले बताए। विष्फोटपछि ताराबलले नै फोनमार्फत घटनाको बारेमा जानकारी गराएका हुन्।  

विष्फोटमा ज्यान गुमाएका खोटाङ्गे युवाको शव मेघालयबाट नेपालमा ल्याउनका लागि परिवारका सदस्यलाई कठिनाइ भएको छ। 

विष्फोटमा आफन्तको ज्यान गएको जानकारी प्राप्त भएपछि घरबाट तीन दिन लगाएर भारतको मेघालय पुगेको मृतकका आफन्त प्रकाश खपाङ्गी मगरले जानकारी दिए।

शव स्वदेश ल्याउन तथा गम्भीर घाइतेको उपचारका लागि सहयोग सङ्कलन अभियान सुरुआत गरिएको स्थानीयवासी प्रकाश बञ्जराले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad