ad ad

समाज


भारतले लखेट्ने, नेपालले छिर्न नदिने!

भारतले लखेट्ने, नेपालले छिर्न नदिने!

नेपालखबर
बैशाख २७, २०७७ शनिबार ५:२,

नेपाल सरकारले भारतबाट कसैलाई नेपाल छिर्न नदिने निर्णय गरेपछि गत साता भारतका महाराष्ट्र, झाँसी, कानपुर, दिल्ली र पञ्जाबबाट लुकिछिपी २१ कामदार बाँकेकाे नरैनापुर फर्किए।

भारत श्रावस्ती जिल्ला भिन्गास्थित क्वारेन्टिनले उनीहरूलाई राख्न नमानेपछि भारतीय प्रहरीले नरैनापुर गाउँपालिका-१ सुइँया नाकाबाट उनीहरूलाई नेपाल प्रवेश गरायो।

‘मजदुर फर्किएको सूचना प्राप्त हुनेबित्तिकै नरैनापुर गाउँपालिकाले उनीहरूलाई आदर्श मावि लक्ष्मणपुरमा रहेको क्वारेन्टिनमा राखेको थियो’, गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साहले भने, ‘तर सशस्त्र प्रहरीले २१ जनालाई लगेर दसगजामा राखेको छ।’

भारतमा रोजगारी गरी घर फर्कने मजदुरको अवैध प्रवेशका कारण भारतसँग सीमा जोडिएको नरैनापुरमा कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको अध्यक्ष साहले बताए। भारतबाट आएर दसगजाबाट लुकीछिपी आफ्नो गाउँघर पुग्न खोज्ने युवालाई प्रहरीले दसगजामै छेक्ने गरेको छ।

कामदारका परिवारले उनीहरूलाई क्वारेन्टिनमा राख्न अनुरोध गरे पनि नेपाल भित्रिन नदिने निर्देशन भएकै कारण क्वारेन्टिनमा राख्न नमिल्ने सशस्त्र प्रहरी बल गंगापुरका इन्चार्ज वीरेन्द्रबहादुर जिसीले बताए। ।

‘नेपाल प्रवेश गर्न नदिने निर्देशनविपरीत लुकीछिपी प्रवेश गरेको पाइएकाले उनीहरूलाई क्वारेन्टिनमा राख्न मिलेन। हामीलाई प्रवेश गर्न नदिने निर्देशन छ।’, इन्चार्ज जिसीले भने, ‘प्रवेश गर्न नदिने भनेपछि क्वारेन्टिनमा राख्न दिने प्रश्न नै आउँदैन। यद्यपि यसअघिदेखि नै नरैनापुर गाउँपालिकाले भारतबाट आएका कामदारलाई क्वारेन्टिनमा राखेर व्यवस्थापन गर्दै आएको छ।’

भारतले उता बस्न नदिने र नेपालले दसगजाभित्र पस्न नदिने गरेकाले नेपाली पीडित बनेको नेपाली कांग्रेस क्षेत्र नं १ का नेता रामचन्द्र मौर्यको भनाइ छ। उनले भने, ‘गाउँ फर्किनेहरू नेपाली नागरिक भएकाले उनीहरूको व्यवस्थापनको जिम्मा सरकारले लिनुपर्छ, पन्छिन मिल्दैन।’

प्रदेश नं ५ सरकारले मंगलबार सूचना जारी गरी सबै स्थानीय तहमा भारतबाट आउने कामदारलाई लक्ष्य गरेर उनीहरूको व्यवस्थापनका लागि थप क्वारेन्टिन निर्माण गर्न निर्देशनसमेत दिएको छ। ‘केन्द्र सरकारले कुनै पनि व्यक्ति प्रवेश गर्न नपाउने सूचना जारी गरेको छ, यो आपसमा विवादित देखियो’, गाउँपालिकाका अध्यक्ष साहले भने, ‘हामी व्यवस्थापनका लागि तयार छौं, तर प्रहरीले सीमाबाट प्रवेश गर्न दिँदैन।’

सीमा क्षेत्रमा अहिले पनि १०० भन्दा बढी कामदार अलपत्र अवस्थामा छन्। बुधबार राति नरैनापुर–५ का तीन कामदार पसेको सूचना आएपछि उनीहरूलाई प्रहरीले फेरि भारततर्फ फिर्ता पठाएको छ। ‘भारतले दसगजासम्म आउन दिने तर नेपाल प्रहरीले नेपाल प्रवेशमा रोक लगाउनुहुँदैन’, नरैनापुर गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले भने।

गत साता नै नरैनापुर क्षेत्रबाट ५६ धर्मगुरुको स्वाब संकलन गरी जाँच गरिएकामा सबैको रिपोर्ट निगेटिभ आएको छ। भारतबाट आउने कामदारका कारण जोखिम हुन सक्ने भन्दै सुरक्षा व्यवस्था कडा बनाइएको इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज मानबहादुर बिसीले बताए। रासस

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .