समाज


सहिदको आकांक्षा साकार पार्न मन, वचन र कर्मले समर्पित बनौँ: राष्ट्रपति

सहिदको आकांक्षा साकार पार्न मन, वचन र कर्मले समर्पित बनौँ: राष्ट्रपति

फाइल तस्बिर


नेपालखबर
माघ १६, २०८२ शुक्रबार ७:२०, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको स्वाधीनताका लागि सहादत प्राप्त गरेका सहिदहरूको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन आग्रह गरेका छन्।

सहिद दिवसका अवसरमा सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले आफ्नो अमूल्य जीवनलाई जनता र राष्ट्रको हितका लागि समर्पण गर्नु नै सहादत भएकाले यस दिवसले सहिदहरूको आकाङ्क्षा साकार पार्न प्रेरणा र हौसला प्रदान गर्न सकोस् भन्ने कामना गरे।

नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान् सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात–अज्ञात अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनले सहिद दिवस देशका लागि प्राण आहुति दिने महान् सहिदहरूको विशेष सम्झना गरिने दिनका रूपमा आजका दिनलाई लिइने स्मरण गरे।

‘नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन इतिहासका विभिन्न कालखण्डमा सामन्ती, निरङ्कुश र तानासाही शासन व्यवस्थाविरुद्ध भएका विभिन्न आन्दोलनहरूमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गनाहरूप्रति सम्झना गर्दै हरेक वर्ष माघ १६ गतेलाई सहिद दिवसको रूपमा हामीले मनाउँदै आएका छौँ’, सन्देशमा भनिएको छ, ‘महान् सहिदहरूको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रति सच्चा श्रद्धाञ्जली हुने विश्वास लिएको छु।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad