काठमाडौंमा एम्बुलेन्स र कार एक आपसमा ठोक्किएर दुर्घटना भएको छ।
बिहीबार मित्रपार्कबाट एयरपोर्टतर्फ आउँदै गरेको बा १० च ८५१३ नं. को निजी कारलाई विपरित दिशावाट आएको बा ८ छ ६९२८ नं.को एम्बुलेन्सले गौशालामा ठक्कर दिएको हो।
दुर्घटनामा गोंगबु बस्ने २९ वर्षीय कार चालक सविन श्रेष्ठ सामान्य घाइते भएका र दुवै सवारी साधनमा क्षति भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
एम्बुलेन्स चालक मोरङको पथरी नगरपालिकाका ३६ वर्षीय राम बहादुर चौधरीले मादक पदार्थ सेवन गरी चलाएको साथै सवारी चालक अनुमति (लाईसेन्स) पनि नभएको प्रहरीले जनाएको छ।
दुवै सवारी साधन र चालक महानगरीय ट्राफिक प्रहरी वृत्त, गौशलाको नियन्त्रणमा राखि थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया