त्रिभुवन विश्वविद्यालयले उपकुलपति, रेक्टर र रजिस्ट्रार कार्यालयमा लगाएको ताला खोल्ने भएपछि विद्यार्थी संगठन आक्रोसित भएका छन्।
अनेरास्ववियु (क्रान्तिकारी) त्रिभुवन विश्वविद्यालय जिल्ला समितिले आज विज्ञप्ति जारी गरी संवादमार्फत समाधान गर्नुको सट्टा प्रशासनले धम्की, डर देखाउने तथा अदालतको आदेशको आडमा ताला खोल्ने चेतावनी दिनु निन्दनीय भएको जनाएको छ। क्रान्तिकारीले चार वटा केन्द्रीय विभागको शुल्क घटाउनु पर्ने माग राखेर पुष १९ गते ताला लगाएको थियो।
त्रिविले विभिन्न विभागमा विद्यार्थी संगठनले लगाएको ताला सोमबार खोल्न अल्टिमेटम दिएको छ। अन्यथा प्रहरी लगाएर ताला तोड्ने विश्वविद्यालय प्रशासनको चेतावनी दिएपछि विद्यार्थी संगठन आक्रोसित भएका हुन्।
अखिल क्रान्तिकारीले अदालतको आदेशको सम्मान गर्ने भए पनि त्यसलाई प्रयोग गरी विद्यार्थीका जायज माग दबाउन खोजिएको आरोप लगाएको छ।
वार्ता, छलफल र संवादका लागि सधैं तयार रहेको जनाउँदै प्रशासनले दमनको बाटो रोजे सशक्त प्रतिकार गर्न बाध्य हुने क्रान्तिकारीले चेतावनी दिएको छ।
क्रान्तिकारीका त्रिवि समिति अध्यक्ष दिनेश ऐरले सहमति कार्यान्वयन गर्न, विद्यार्थीमाथिको दमन बन्द गर्न र तत्काल वार्ता तथा संवादको वातावरण बनाउन विश्वविद्यालय प्रशासनसँग आग्रह गरेका छन्। ‘अदालतको आदेश देखाएर त्रिविको ताला खोलियो भने आन्दोलन चर्किन्छ। वार्ता, संवादबाट समाधान गर्नुपर्छ, नत्र तेस्रो चरणको आन्दोलन सुरु गछौँ,’ ऐरले नेपालखबरसँग भने, ‘ताला खोलिए मसाल जुलुस निकाल्छौँ।’
शुल्क समायोजन गरिएको भए जानकारी दिनुपर्ने उनको भनाइ छ। कुनै जानकारी नदिई आन्दोलनको औचित्य नभएको जस्तो व्यवहार गर्न नपाइने उनले बताएका छन्।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति दीपक अर्यालले शुल्क समायोजन भइसकेको बताए। तीन सदस्यीय समिति गठन गरी शुल्क समायोजन गरिएकाले ताला खोल्न आन्दोलनरत विद्यार्थीलाई आग्रह गरेको अर्यालको भनाइ छ।
क्रान्तिकारीले मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गतका अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य र द्वन्द्व शान्ति तथा विकास अध्ययन गरी चार वटा केन्द्रीय विभागले लिँदै आएको शुल्क घटाउन माग राखेर तालावन्दी गरेको थियो। तालाबन्दीका कारण उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रार कार्यकक्षमा जान पाएका छैनन्।
Shares

प्रतिक्रिया