समाज


उपचार गर्ने क्रममा किशोरीको मृत्यु भएपछि ‘डाक्टर’ पक्राउ

उपचार गर्ने क्रममा किशोरीको मृत्यु भएपछि ‘डाक्टर’ पक्राउ

नेपालखबर
माघ १२, २०८२ सोमबार ११:४९, काठमाडौँ

सर्लाहीमा पायल्सको उपचार गर्ने क्रममा एक किशोरीको मृत्यु भएपछि उपचारमा संलग्न चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ। 

लालबन्दी नगरपालिका–१ नवलपुरमा रहेको मोहन आयुर्वेदिक औषधालयमा पायल्सको उपचार गर्ने क्रममा आइतबार साँझ स्थानीय एक किशोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

मृत्यु हुनेमा लालबन्दी नगरपालिका–२, पुनर्वास घर भएका बिपिन पासवानकी छोरी अन्दाजी १८ वर्षीया हंशु पासवान छिन्। 

किशोरीको मृत्यु भएपछि प्रहरीले औषधालयका चिकित्सक रामविनय साहलाई पक्राउ गरेको छ। घटनापछि सुरक्षाकर्मीले औषधालय बन्द गरेका छन्। 

पायल्सको शल्यक्रिया गर्ने क्रममा किशोरीको अवस्था गम्भीर बनेपछि हतारहतार उनलाई सर्लाहीकै हरिवनमा रहेको नमूना अस्पताल लगिएको थियो। 

नमूना अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। शल्यक्रिया गर्ने क्रममा लापरबाही हुँदा किशोरीको मृत्यु भएको आरोप आफन्तले लगाएका छन्। 

‘मृतक किशोरीको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको छ,’ जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले नेपालखबरसँग भने, ‘घटनाका सम्बन्धमा हामी थप अनुसन्धान गरिरहेका छौँ।’

औषधालय अवैध भए नभएको अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ। तर, सम्बन्धित व्यक्तिले भने प्रहरीसँग औषधालय बैध भएको दाबी गरेका छन्। 

‘पाइल्सको उपचार गर्ने क्रममा लट्याउने सुई लगाएपछि किशोरीको मृत्यु भएको जानकारी हामीले पाएका छौँ,’ डीएसपी राईले भने, ‘उनी चिकित्सक हुन् होइन, खुल्न बाँकी छ। उनले अप्रेशन गर्ने अनुमति पाएका छन् कि छैनन्, हामी बुझ्दै छौँ।’

घटना अनुसन्धानको लागि समिति गठन हुने उनले बताए। ‘अब समितिले गर्ने निर्णयअनुसार थप कारबाही अघि बढ्ने छ,’ उनले भने। 

किशोरीको मृत्यु भएपछि पीडित परिवार र स्थानीयले नवलपुरस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए। टायर बालेर पूर्वपश्चिम राजमार्गमा प्रदर्शन हुँदा आइतबार साँझ केहीबेर सवारी साधन बन्द भएका थिए। 

घटनाको निष्पक्ष छानविन गर्ने र पीडित परिवारलाई राहत उपलब्ध गराउने सहमतिपछि उनीहरुले प्रदर्शन रोकेका थिए। 

किशोरीको उपचारमा संलग्न चिकित्सक रामविनय साहलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाइएको छ। 

लालबन्दी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुमताज मिकरानीले उक्त औषधालयले संचालनका लागि नगरपालिकाबाट कुनै अनुमति नलिएको बताएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad