समाज


पाँचखाल बृहत्–खानेपानीको ठेकेदार छान्दै एडीबी मुख्यालय

पाँचखाल बृहत्–खानेपानीको ठेकेदार छान्दै एडीबी मुख्यालय

नेपालखबर
बैशाख २४, २०७७ बुधबार १०:५,

पाँचखाल नगरपालिकामा सुनकोशी–पाँचखाल बृहत् खानेपानी योजनाको ठेक्का प्रक्रियामा रहेको छ। योजनाको टेण्डर समयावधि सकिएपछि ठकेदार कम्पनी छनोट गर्न प्राप्त नौ प्रस्तावका कागजात एशियाली विकास बैंक (एडीबी)को मुख्यालय फिलिपिन्सको मनिला पठाइएको छ।

नौ कम्पनीको प्रस्तावको नेपालस्थित एडीबीको कार्यालयले प्रारम्भिक प्राविधिक मूल्यांकन गरी पठाइएको कागजातको एडीबी मुख्यालयले अध्ययन गरिरहेको नेपाल सरकार शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजनाका उपनिर्देशक रामकुमार श्रेष्ठले बताए। उनले भने, ‘प्रस्तावको एडिबी मुख्यालयले अध्ययन गरिरहेको छ, मैले इमेलमार्फत फलोअप गरिरहेको छु, एक दुई हप्तामै निर्माण कम्पनी छनोट भइआउने जानकारी प्राप्त भएको छ।’ उनका अनुसार प्रस्तावकको प्राविधिक मूल्याङ्कनपछि आर्थिक मूल्याङ्कन गरी निर्माण कम्पनीको टुङ्गो लाग्नेछ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना सङ्क्रमणको उच्च जोखमका कारण परियोजनाको समयावधि लम्बिने देखिएको छ। कोरोना सङ्क्रमणका उच्च जोखिमका कारण प्रक्रियामा केही ढिलाइ भए पनि ठेकेदार कम्पनी छनोट भएलगत्तै निर्माणका काम अघि बढ्ने श्रेष्ठले बताए। परियोजना रु दुई अर्ब २१ करोडको लागतमा दुई वर्षमा निर्माण सम्पन्न हुने लक्ष्य राखिएको थियो। योजना सम्झौताको शर्तअनुसार कूल योजनाको पाँच प्रतिशत अर्थात् रु ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गरेका छन्। जसअनुसार पाँचखालका प्रतिउपभोक्ता परिवारले खानेपानी परियोजनाको बैंक खातामा रु १८ हजार जम्मा गरिसकेका हुन्।

श्रेष्ठका अनुसार आयोजनाअन्तन्तर्गत नेपालमा सञ्चालित खानेपानी योजनामध्ये पाँचखाल–सुनकोशी–पाँचखाल बृहत् खानेपानी सबैभन्दा ठूलो हो। नेपाल सरकार, नगर विकास कोष, एडीबी र उपभोक्ताको लागतमा परियोजना सम्पन्न हुनेछ। परियोजनाको विसं २०७६ भदौ १२ गते तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको उपस्थितिमा खानेपानी आयोजनाअन्तर्गत शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता गरिएको थियो। खानेपानीका लागि भुम्लु गाउँपालिका–१० स्थित इन्द्रावती नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधि निर्माणका लागि सडक पु¥याउन पाँचखाल नगर कार्यालयद्वारा सर्वेको काम भइरहेको छ।

काभ्रेपलाञ्चोकका प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री बाँस्कोटाले एडीबीले निर्माण कम्पनी छनोट गरेपछि खानेपानी योजनाको काम तीव्र गतिमा अघि बढाइने बताए। उनले भने, ‘एडीबीले ठकेदार कम्पनी छिट्टै छनोट गर्ने जानकारी आएको छ, छनोटलगत्तै खानेपानीको काम तीव्र गतिमा अघि बढाइनेछ।’

उनले निरन्तर निर्माणले समयसीमासम्ममा आयोजना सम्पन्न गर्ने अपेक्षा राखिएको बताए। ‘आयोजनाका लागि आवश्यक जनशक्ति परिचालन गरिनेछ, समयमै पाँचखालका बासिन्दालाई खानेपानीयुक्त बनाइनेछ’, बाँस्कोटाले भने। परियोजनाबाट पाँचखाल नगर क्षेत्रका करिब सात हजार उपभोक्ता लाभान्वित हुनेछन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad