प्याब्सन र अक्सफोर्ड युनिभर्सिटी प्रेस इन्डियाले नेपालमा पठन संस्कार र गुणस्तरीय शिक्षाको प्रवर्द्धन गर्ने भएका छन्।
यसका लागि प्याब्सन र अक्सफोर्ड युनिभर्सिटी प्रेस इन्डियाबीच समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
नेपालमा गुणस्तरीय शिक्षाको प्रवर्द्धन गर्दै आएको ३५ वर्ष पूरा गरेको अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र अक्सफोर्ड युनिभर्सिडी प्रेस (ओयूपी) इन्डियाबीच काठमाडौँमा समझदारीपत्रमा हस्ताक्षर भएको हो।
समझदारीसँगै नेपालभरका विद्यालयहरूमा विश्वस्तरीय शिक्षा, सशक्त पठन संस्कार र समग्र शैक्षिक सुधारलाई अघि बढाउने उद्देश्यसहित एक अर्थपूर्ण सहकार्यको सुरुवात भएको प्याब्सनले जनाएको छ। प्याब्सनले देशभरका ५ हजारभन्दा बढी विद्यालयहरूको प्रतिनिधित्व गर्दै आएको छ। नेपाली विद्यार्थीहरूलाई उद्देश्यपूर्ण तथा उच्च गुणस्तरको शिक्षा प्रदान गर्ने प्रतिबद्धतामा निरन्तर सक्रिय रहँदै आएको छ।
विद्यार्थीहरूको सोच्ने क्षमता, सिर्जनशीलता, शैक्षिक विकास तथा आजीवन सिकाइका लागि पठन संस्कार निर्माण अत्यावश्यक भएकाले यसलाई प्याब्सनले आफ्नो प्रमुख प्राथमिकताका रूपमा अघि सारेको छ।
विश्वव्यापी रूपमा पठन बानी कमजोर बन्दै गएको वर्तमान सन्दर्भमा सही पुस्तकहरूको उपलब्धता, सहयोगी सिकाइ वातावरण निर्माण तथा योजनाबद्ध पठन कार्यक्रमको कार्यान्वयनमार्फत विद्यार्थीहरूलाई सक्रिय रूपमा सहयोग गर्नु अत्यन्त जरुरी भएको प्याब्सनको निष्कर्ष छ।
विद्यार्थीकेन्द्रित पहलसँगै, परीक्षा केन्द्रित शिक्षाभन्दा पर गई सिकाइको वास्तविक उद्देश्य, आधुनिक शिक्षण दर्शन र विश्वव्यापी शैक्षिक प्रवृत्तिबारे शिक्षक तथा विद्यालय नेतृत्वलाई निरन्तर तालिममार्फत सशक्त बनाउने प्रतिबद्धता पनि प्याब्सनले लिएको छ।
अक्सफोर्ड विश्वविद्यालय अन्तर्गतको विभाग तथा विश्वप्रसिद्ध शैक्षिक प्रकाशक अक्सफोर्ड युनिभर्सिटी प्रेस इन्डियाले पनि यस दृष्टिकोणलाई पूर्ण रूपमा साझा गरेको छ। विद्यालयहरूमा पठन संस्कारको प्रवर्द्धन ओयूपीको मूल लक्ष्यको केन्द्रमा रहँदै आएको छ र नेपालभर प्याब्सनले सञ्चालन गर्दै आएको शैक्षिक प्रयासमा सहकार्य गर्न पाउँदा ओयूपी इन्डियाले गर्व र प्रतिबद्धता व्यक्त गरेको छ।
प्याब्सन केन्द्रीय समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारीले अक्सफोर्ड युनिभर्सिटी प्रेस इन्डियासँग भएको यो समझदारीपत्र प्याब्सन तथा नेपालको विद्यालय शिक्षाका लागि एक महत्वपूर्ण उपलब्धि भएको बताए।
‘यदि विद्यालयको एउटा मूल उद्देश्य छ भने, त्यो सिकाइ नै हो पठनगुणस्तरीय शिक्षाको आधार हो। पठनमा सशक्त ध्यान नदिई शैक्षिक उपलब्धि, समालोचनात्मक सोच, सिर्जनशीलता वा चरित्र विकास-कुनै पनि क्षेत्रमा वास्तविक प्रगति सम्भव हुँदैन । यस सहकार्यमार्फत, प्याब्सनले शिक्षा सुधारको सुरुआत सशक्त पाठक निर्माणबाटै हुनुपर्छ भन्ने आफ्नो विश्वास पुनः स्पष्ट गरेको छ’, उनले भने, ‘साथै, हामी यो पनि प्रस्ट बुझ्दछौं कि पुस्तक मात्र पर्याप्त हुँदैनन्। विद्यालयलाई दक्ष र प्रशिक्षित शिक्षक, सक्षम र आत्ममूल्यांकन गर्न सक्ने विद्यालय नेतृत्व तथा स्पष्ट शैक्षिक उद्देश्य आवश्यक हुन्छ । त्यसैले, यो एमओयू विद्यार्थीहरूको पठन बानी विकाससँगै विद्यालय नेतृत्व र शिक्षक क्षमताको सुदृढीकरणमा केन्द्रित छ।’
प्याब्सनको दृष्टि परीक्षा र र्यांकिङभन्दा पर रहेको उल्लेख गर्दै उनले विद्यालयहरूलाई यस्तो स्थान बनाउन चाहेको बताए।
‘जहाँ विद्यार्थीहरूले खुसीसाथ पढ्न, गहिरो सोचून, आत्मविश्वासका साथ अभिव्यक्ति दिन सकून् र जिम्मेवार नागरिकका रूपमा विकास होऊन् पठनलाई कामको रूपमा होइन, विद्यालय जीवनको संस्कारका रूपमा स्थापित गर्नु नै हाम्रो लक्ष्य हो’, उनले थपे।
साक्षरता, गुणस्तरीय सिकाइ सामग्री तथा व्यावसायिक विकासप्रति प्रतिबद्धता साझा गर्ने अक्सफोड युनिभर्सिटी प्रेस इन्डियासँग सहकार्य गर्न पाउँदा गर्व महसुस गरेको उनले उल्लेख गरे।
यस सहकार्यमार्फत पाठकहरूको नयाँ पुस्ता तयार पार्ने, विद्यालय नेतृत्वलाई सशक्त बनाउने र नेपालमा अझ मानवीय तथा सुदृढ शिक्षा प्रणाली निर्माणमा योगदान गर्ने अपेक्षा राखेको उनको भनाइ छ।
अक्सफोर्ड युनिभर्सिटी प्रेस इन्डियाका प्रबन्धनिर्देशक सुकान्त दासले अक्सफोर्ड युनिभर्सिटी प्रेसले नेपालको शिक्षा क्षेत्रमा उल्लेखनीय सहभागिता र महत्वपूर्ण उपलब्धिहरू हासिल गर्दै आएको बताए।
‘यस आधारलाई थप सुदृढ गर्दै, हामी विश्वप्रसिद्ध वक्ता, अनुभवी शिक्षक तथा विश्वस्तरीय शैक्षिक स्रोतहरू उपलब्ध गराएर विद्यार्थीहरूको सिकाइ यात्रालाई अझ समृद्ध बनाउनेछौँ। साथै, शिक्षकहरूको व्यावसायिक विकासलाई अघ्ि बढाउने र विद्यालय नेतृत्वलाई आधुनिक शैक्षिक अभ्यासहरूसँग सुसज्जित गर्ने हाम्रो प्रतिबद्धता छ । सहकार्यमा, हामी शैक्षिक सुधारलाई तीव्र बनाउँदै विश्वस्तरीय मापदण्ड अनुरूप शैक्षिक गुणस्तर उकास्ने लक्ष्य राख्दछौँ’, उनले भने।
यसरी हुनेछ सहकार्य
प्याब्सनसँगको ओयूपीले विश्वभर मान्यता प्राप्त रिड विथ अक्सफोर्ड शृङ्खला (विश्वसनीय र लोकप्रिय अक्सफोर्ड रिडिङ ट्रि कार्यक्रमको एक अङ्ग) प्याब्सन सदस्य विद्यालयहरूका लागि ७० वटा पुस्तकहरूको विशेष रूपमा तयार गरिएको प्याक अत्यन्तै सहुलियतपूर्ण दरमा उपलब्ध गराउनेछ।
यसले नेपालभरका विद्यार्थीहरूलाई स्तरानुसारका गुणस्तरीय पठन सामग्रीमा पहुँच उल्लेखनीय रूपमा विस्तार गर्नेछ।
बेलायतस्थित ओयूपीको व्यावसायिक विकास टोलीमार्फत रिड विथ अक्सफोर्ड स्रोतहरू अपनाउने प्याब्सन विद्यालयहरूका लागि विशेष अनलाइन तालिम कार्यक्रम सञ्चालन गरिने प्याब्सनले जनाएको छ। यी तालिमहरूले शिक्षकहरूलाई प्रभावकारी पठन अभ्यास र कक्षा शिक्षणमा प्रयोग गर्न सकिने रणनीतिहरूमा दक्ष बनाउने लक्ष्य राख्नेछन्।
त्यसैगरी प्याब्सनद्वारा आयोजना गरिने अन्तर्राष्ट्रिय सम्मेलन, प्रादेशिक नेतृत्व शिखर सम्मेलन तथा अन्य नेतृत्व विकास कार्यक्रमहरूका लागि ओयूपीले विशेषज्ञ प्रशिक्षक र मुख्य वक्ताहरू उपलब्ध गराउनेछ, जसबाट विद्यालय नेतृत्वक्षमताको अभिवृद्धि विश्वव्यापी उत्कृष्ट अभ्यासहरूको प्रयोग सम्भव हुनेछ।
ओयूपीले प्याब्सन केन्द्रीय कार्यालयमा स्रोत तथा सिकाइ केन्द्र स्थापना गर्न सहयोग गर्नेछ, जहाँ नमूना पुस्तकहरू, शिक्षण सामग्री र व्यावसायिक सिकाइ स्रोतहरू उपलब्ध हुनेछन्। अर्कोतर्फ, प्याब्सनले आफ्ना सदस्य विद्यालयहरूलाई सहुलियतपूर्ण रिड विथ अक्सफोर्ड प्याक खरिद गरी सम्पूर्ण विद्यालयमा पठन संस्कार लागू गर्न प्रोत्साहित गर्नेछ। विद्यालयहरूलाई विद्यालय पात्रोमा पठनका लागि छुट्टै समय निर्धारण गर्न सिफारिस गरिनेछ, जसबाट विद्यार्थीहरूले प्रत्यक्ष लाभ लिन सक्नेछन्।
प्याब्सन र अक्सफोर्ड युनिभर्सिटी प्रेस इन्डिया दुवैले यस समझदारीपत्रलाई दीर्घकालीन सहकार्यको आधारका रूपमा लिएका छन्, जसको उद्देश्य आत्मविश्वासी पाठक निर्माण, शिक्षकहरूलाई आधुनिक सीपले सुसज्जित गर्नु तथा दूरदर्शी विद्यालय नेतृत्वलाई सशक्त बनाउनु हो। प्याब्सनको व्यापक राष्ट्रिय सञ्जाल र ओयूपीको प्रकाशन तथा साक्षरता विकासमा रहेको विश्वव्यापी विशेषज्ञतालाई एकत्रित गर्दै यो सहकार्यले नेपालको शिक्षा प्रणालीमा दीर्घकालीन र सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
Shares

प्रतिक्रिया