समाज


नेपालमा भित्रिएको कोरोना कस्तो खालको हो? यसरी अनुसन्धान गर्दैछन् वैज्ञानिक

नेपालमा भित्रिएको कोरोना कस्तो खालको हो? यसरी अनुसन्धान गर्दैछन् वैज्ञानिक

नेपालखबर
बैशाख २३, २०७७ मंगलबार १४:७,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको आणुवांशिक (जिन) अध्ययन गर्ने भएको छ। यस सम्बन्धमा मन्त्रालयको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज (मंगलबार) जिनसँग सम्बन्धित विभिन्न वैज्ञानिकसँग छलफलसमेत गरिसकेको छ।

कोरोनाका विभिन्न जिन रहेकाले अध्ययनबाट नेपालमा रहेको कुन जिन हो भन्ने पत्ता लगाइने छ। नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिस्टार पुष्पराज खनालले नेपालमा आएको जिन कस्तो प्रकारको हाे भनेर अध्ययन गर्न थालिएको जानकारी दिए।

उनका अनुसार कोरोना संक्रमणबाट अरू देशमा मानिसको मृत्यु भइरहेको अवस्थामा नेपालमा भने अहिलेसम्म सबैजसो संक्रमितको अवस्था सामान्य रहेकाले जिनको अनुसन्धान गर्न थालिएको हो।

अध्ययनका लागि नेपालमा रहेका भाइरोजीमा काम गरिरहेका जिन-विज्ञ, संस्था र विदेशमा रहेका वैज्ञानिकसँग छलफल गरिएको छ। अहिलेसम्मको अध्ययनले यहाँ लक्षणबिनै संक्रमण देखिएको पाइएकाे छ।

‘यहाँ कुनचाहिँ जिनले मानिसमा संक्रमण भइरहेको छ,’ उनले भने, ‘त्यसैले भाइरसको कुन चाहिँ जिन नेपालमा बढी छ। त्यसको अध्ययन गर्न थालेका हौं।’

परिषद्ले संक्रमितकै स्वाब र रगतबाट जिनको प्रकार पत्ता लगाउने भएकाे हो। अध्ययनबाट नेपालमा अमेरिका, चीन, भारतलगायत अन्य देशमा रहेको जिन छ वा छैन भनेर पनि पत्ता लगाइने कोभिड-१९ सम्बन्धित प्रयोगशाला सल्लाहाकार समितिका सदस्यसमेत रहेका खनालले जानकारी दिए।

उनका अनुसार संक्रमित ८२ जनाको स्वाब संकलन गरी जिन कुन प्रकारको रहेको भन्ने पत्ता लगाइने छ। 

जिनको अध्ययन गरेर नेपालमा रहेको जिनको तहगत वर्गीकरणसमेत गरिने उनले बताए। जिन पत्ता लगाएपछि कोभिड-१९ को उपचारका लागि आवश्यक भ्याक्सिन र औषधि पत्ता लगाउन सकिने उनको भनाइ छ। 

‘इटाली, वुहान र अमेरिकामा संक्रमण देखिएका मानिस मरिरहेका छन्, तर यहाँ त मरेका छैनन्,’ उनले भने, ‘मानिसको मेडिकल लक्षण चिह्न (क्लिनिकल साइन सिन्ट्रोम) छैन। मान्छे देख्दा सामान्य छ तर संक्रमण देखिएको छ। यो जिनको कारणले हो।’

नेपालभित्रका वैज्ञानिकले नै ती जिनको वर्गीकरण गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

चीन, अमेरिका, भारतलगायत देशले पनि कोरोनाको जिनबारे अनुसन्धान सुरु गरिसकेका छन्। संक्रमणले मानिसको रगतमा कुन कुन चिज उत्पन्न भएका छन्, त्यो पत्ता लगाइने नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिस्टार खनालले बताए।

जिनको अध्ययनका लागि मन्त्रालयले काठमाडौं विश्वविद्यालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा रहेका जेनेटिक ल्याब प्रयोग गर्नेछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad