गृहमन्त्री ओमप्रकाश आर्यालसँग विश्व हिन्दु महासंघका अध्यक्ष अस्मिता भण्डारीसहित संस्थाका प्रतिनिधिहरूले बिहीबार मन्त्रालयमा भेट गरी धार्मिक क्षेत्रको शान्ति-सुरक्षाबारे ध्यानाकर्षण गराएका छन्।
भेटका क्रममा गृह मन्त्री आर्यालले बहुसांस्कृतिक र बहुजातीय देशमा धार्मिक अशान्ति फैलाउने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट गर्दै यस्ता कार्यमा संलग्न जोकसैलाई कानुनअनुसार कारबाही गरिने बताए।
उनले देशमा शान्ति, अमनचयन, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न एक-अर्काको धार्मिक आस्था र विश्वासको सम्मान आवश्यक रहेको उल्लेख गर्दै यसमा धार्मिक संघ-संस्थाको महत्वपूर्ण भूमिका रहने धारणा राखे।
त्यस्तै, सामाजिक सञ्जालमार्फत फैलाइने धार्मिक असहिष्णुता र भ्रामक सूचना विरुद्ध नागरिक तहबाटै प्रतिवाद गर्न तथा समाजमै सचेतना फैलाएर सामाजिक तथा धार्मिक सहिष्णुता कायम राख्न उनले अनुरोध गरेका छन्।
Shares

प्रतिक्रिया