समाज


साढे पाँच महिनामा ५ लाख २६ हजार जनाले लिए प्रहरी रिपोर्ट

साढे पाँच महिनामा ५ लाख २६ हजार जनाले लिए प्रहरी रिपोर्ट

नेपालखबर
पुस २१, २०८२ सोमबार २०:८, काठमाडौँ

नेपाल प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि पुस २० गतेसम्म ५ लाख २६ हजार ३ सय ५५ जनालाई अनलाइनबाट प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) उपलब्ध गराएको छ। 

यो अवधिमा ६ लाख ५९ हजार ४५ वटा अनलाइन आवेदन प्राप्‍त भएका प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले जानकारी दिए।
जसमा ४५८ आवेदनमा कसुर उल्लेख भई वितरण गरिएको छ। 

डीआईजी काफ्लेका अनुसार १ लाख ३० हजार ४ सय २९ वटा आवेदन रद्द भएका छन् २ हजार २ सय ६१ आवेदन कार्यान्वयनको क्रममा छन्।

हाल दैनिक ६ हजार देखि ५ हजार ५ सयसम्म अनलाइन आवेदन प्राप्‍त हुने र तीमध्ये सामान्यतया ४ हजार ५ सय प्रमाणपत्र दैनिक उपलब्ध गराइने उनले बताए।

वर्तमान समयमा अधिकांश विकसित मुलुकहरूले भिसा प्रदान गर्नुपूर्व उनीहरूको आपराधिक पृष्ठभूमि बुझेर मात्र भिसा प्रदान गर्ने प्रावधान लागू गरेका छन्। साथै, नेपालमा पनि सरकारी एवं निजी संघ सस्थाहरूले समेत रोजगारी लगायत विभिन्न प्रयोजनका लागि प्रहरी चारित्रिक प्रमाणपत्र अनिवार्य गरेका छन्। 

प्रहरीका प्रवक्ता डीआईजी काफ्ले भन्छन्, ‘आपराधिक गतिविधिमा संलग्न भएका व्यक्तिहरूले प्रहरी चारित्रिक प्रमाणपत्र पाउँदैनन्। जसले गर्दा विभिन्न देशमा रोजगारी वा अन्य अवसरहरूबाट वञ्चित हुनुपर्दछ। कतिपय अन्तर्राष्ट्रिय विश्व विद्यालयहरूले भर्ना तथा छात्रवृत्ति समेत चारित्रिक प्रमाणपत्रको आधारमा प्रदान गर्ने गर्दछन्। त्यसैले सबै नागरिकहरूले कानुनको पालना गरी आफ्नो स्वच्छ छवि बनाई राख्नु जरूरी रहेको छ।’

नेपाल प्रहरीले प्रहरी रिपोर्ट पूर्णतः निःशुल्क उपलब्ध गराउँछ। 

अपराध सम्बन्धी राष्ट्रिय अभिलेख तथा प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका, २०८० बमोजिम प्रहरीले चारित्रिक प्रमाणपत्र उपलब्ध गराउने गरेको छ।

निर्देशिका अनुसार कुनै व्यक्ति उपर कुनै फौजदारी मुद्दामा अभियोग लागि अदालत वा अर्धन्यायिक निकायबाट सजाय तोकिएकोमा त्यस्ता सजाय भुक्तान नगरी कुनै पनि माध्यमबाट उसलाई प्रहरी चारित्रिक प्रमाणपत्र उपलब्ध गराइने छैन। 

प्रहरी चारित्रिक प्रामाणपत्रमा कुनै त्रुटि भएमा वा विवरण फरक परेमा सम्बन्धित व्यक्तिले त्यस्तो त्रुटि सच्याउन प्रहरी प्रधान कार्यालयमा निवेदन दिन सक्नेछन्। गम्भीर वा जघन्य कसुरमा सजाय पाएको, भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध, सम्पत्ति शुद्धिकरण, राहदानी दुरूपयोग लगायत अन्य फौजदारी कसुरमा सजाय पाएका व्यक्तिको हकमा त्यस्तो व्यक्तिले गरेको कसुर उल्लेख गरी प्रहरी चारित्रिक प्रमाणपत्र उपलब्ध हुनेछ। 

साथै कुनै फौजदारी अभियोगमा मुद्दा दायर भई सफाई पाएको, नाबालक, अदालत वा कुनै अर्धन्यायिक निकायबाट सुरू कारवाही र किनारा हुने फौजदारी मुद्दामा एक वर्ष वा सो भन्दा कम सजाय भई सजाय भुक्तान भएको, कुनै फौजदारी अभियोगमा मुद्दा दायर भई सफाई पाएको व्यक्तिको विरूद्धमा पुनरावेदन परी पुनरावेदनको रोहमा मुद्दा विचाराधीन रहेको व्यक्तिको हकमा कसुर उल्लेख नगरी प्रहरी चारित्रिक प्रमाणपत्र उपलब्ध हुनेछ।

गत भदौ २३ र २४ गतेको आन्दोलन पश्चात मातहत कार्यालयहरूको अभिलेखमा समस्या भएको हुँदा होल्ड भएका प्रश्नहरूको प्रष्ट जवाफ नआउने तथा आन्दोलन पश्चात हरेक क्षेत्रमा प्रहरी चारित्रिक प्रमाणपत्र अनिवार्य गरिएकोले आवेदकको संख्यामा उल्लेख्य वृद्धि भएको हुँदा वर्तमान समयमा प्रहरी रिपोर्ट वितरणमा केही समय लाग्ने गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad