समाज


सामाजिक सद्भाव कायम राख्न गृहमन्त्रीको आग्रह

सामाजिक सद्भाव कायम राख्न गृहमन्त्रीको आग्रह

नेपालखबर
पुस २१, २०८२ सोमबार १७:४६, काठमाडौँ

गृहमन्त्री ओमप्रकाश अर्यालले धनुषा र पर्सामा भएका धार्मिक सद्भाव र सहिष्णुतामाथि खलल पुर्‍याउने घटनाबारे गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। उनले समाजमा हिंसा भड्किन नदिन सबै पक्षसँग आग्रह गरेका छन्। 

सोमबार गृह मन्त्रालयमा विभिन्न संवैधानिक आयोगका कार्यवाहक अध्यक्ष, सचिव तथा पदाधिकारीसँग भएको सामूहिक छलफलमा गृहमन्त्री अर्यालले सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका हुन्। गृह प्रशासन र सङ्घीय सरकारको तहबाट गरिनु पर्ने सबै खालका सुरक्षाको पूर्वतयारी र सजगता अपनाइएको उनले बताए। 

गृहमन्त्री अर्यालले एउटाको धर्म र सम्प्रदायलाई आज परेको पीडा भोलि आफ्नो समुदायमाथि पनि पर्न सक्ने भएकाले यस घटनालाई निस्तेज गर्न सबैले आ–आफ्नो ठाउँ र तहबाट जिम्मेवारी बोध गरी भूमिका निर्वाह गरिदिन आग्रह गरे। 

हाल मधेस प्रदेश तथा अन्य केही प्रदेशमा देखिन खोजेको साम्प्रदायिकता संयमता, सजगता र  सहअस्तित्वका आधारमा स्थितिलाई सामान्यीकरण गर्न पनि अनुरोध गरेका छन्। 

छलफलमा मधेसी आयोगका कार्यवाहक अध्यक्ष जिवछ साह, मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महामदीन अलि, थारु आयोगका कार्यवाहक अध्यक्ष सुबोधसिंह थारू, गृहसचिव राजकुमार श्रेष्ठ, राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, गृह मन्त्रालयका  सुरक्षा तथा समन्वय महाशाखा प्रमुख तथा सहसचिव आनन्द काफ्ले र आयोगका अन्य सदस्यको उपस्थिति रहेको थियो। 

सबै आयोगका कार्यवाहक अध्यक्षले अहिले मधेस प्रदेशमा देखिएको धार्मिक तथा सांस्कृतिक सद्भाव खलबलाउने गतिविधिलाई केन्द्र तथा प्रदेस सरकार र समुदायका नागरिक तथा बुद्धिजीवीको समन्वयात्मक भूमिका महत्त्वपूर्ण हुने बताए। 

यसअघि गृहमन्त्री अर्यालको अध्यक्षतामा सोमबार नै मधेस प्रदेशसहितका २१ जिल्लाका सुरक्षा समितिका पदाधिकारी र सातै प्रदेशका प्रदेश प्रहरी प्रमुखसँग जुम बैठक गरेका थिए। बैठकमा मन्त्री अर्यालले हाल मधेस प्रदेशका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू तथा प्रदेश प्रहरी प्रमुखसँग जिल्लाको शान्ति सुरक्षा अवस्थाबारे ब्रिफिङ लिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad