बुद्ध एयरको विमान भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेमा चिप्लिएको छ।
शुक्रबार बेलुका काठमाडौँबाट यात्रु लिएर गएको विमान अवतरण गर्ने क्रममा रनवेमा चिप्लिएको सुरक्षा स्रोतले जानकारी दिएको छ।
‘विमान अवतरण गर्ने क्रममा चिप्लिएर २०० मिटर पूर्वतर्फ सानो खोल्सामा पुगेको छ। यात्रुहरुको उद्धार गरिरहेका छौँ। अहिलेसम्म कुनै मानवीय क्षती छैन। विमानमा पनि ठूलो क्षति देखिएको छैन’, झापाका प्रहरी प्रमुख एसपी राजन लिम्बुले भने।
एसपी लिम्बुका अनुसार सवा ९ बजेतिर विमान अवतरण गरेको थियो। विमानमा ५१ जना यात्रु सवार थिए।
बुद्ध एयरको ९ एन–एएमएफ कलसाइनको विमानको अगाडीको भाग माटोमा धस्किँदा क्षति पुगेको छ। चालक दलका सदस्यसहित सबै यात्रु सकुशल रहेको पनि प्रहरीले जानकारी दिएको छ।
अहिले त्यहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरिरहेको छ।
विमान रनवेमा चिप्लिए पछि यात्रु उमेश मोक्तानले इमर्जेन्सी झ्यालको ढोका खोलेका थिए।
उनी भन्छन्, ‘एयर होस्टेज आँत्तिएपछि मैले धकेल्दिएर जहाजको इमर्जेन्सी ढोका खोलेँ। एयरहोस्टेजले नतान्नु भन्दै हुनुहुन्थ्यो तर मैले उहाँको जिद्दी नमानिकन इमर्जेन्सी ढोका खोलेँ।’
मोक्तानले इमर्जेन्सी ढोका खोपछि यात्रुले त्यहीँबाट हाम फालेका थिए।
उमेशले भने, ‘ल्यान्ड भइसकेको थियो। अब आइपुग्यो भनेर खुसी हुँदै थियौँ। तर एक्कासी चिप्लिएको आवाज आयो। पछाडि धुवाँ देखियो र गनायो। सबैजना डराउनुभयो। कोही कराउने गर्न थाल्नुभयो। मैले इमर्जेन्सी ढोका हत्तपत्त खोलेँ। धेरैजना आमाहरुले पनि त्यहीँबाट हाम फालेर ज्यान बचाउनु भयो। त्यतिबेला धेरैजना यात्रुले चिच्याउँदै ढोकामा लात्ता हानेका थिए। तर, ढोका खुल्ने अवस्था थिएन। सपना हो की बिपना जस्तो लागिरहेको छ।’
Shares

प्रतिक्रिया