जेनजी आन्दोलनकी एकजना अगुवा तनुजा पाण्डेले जेनजी आन्दोलनमा नरहसंहार गर्ने र सार्वजनिक सम्पत्तिमाथि विध्वंस मच्चाउने अपराधिहरूलाई कानुनी दायरामा ल्याउन नसके मुलुक असफल राष्ट्र बन्ने बताएकी छन्।
जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते जिउँदै जलाइएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको तस्बिर देखेपछि उनले सामाजिक सञ्चालमार्फत् आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।
‘धेरैजनाले मलाई भदौ २४ को घटनाबारे प्रश्न गर्नुभएको छ,’ उनले फेसबुकमा लेखेकी छन्, ‘प्राज्ञ रविलक्ष्मी चित्रकार म्याडमको तस्बिर देखेपछि, मौन बस्न सकिनँ।’
‘भदौ २३ मा तत्कालीन राज्यसत्ताले आफ्नै नागरिकलाई निर्दयतापूर्वक हत्या गर्यो। त्यो दिन सम्पूर्ण नेपाल शोकमा डुबेको थियो,’ पाण्डेले भनेकी छन्, ‘यस्तो नरसंहार पछि एक मानवको रूपमा कोही क्रोधित हुनु, भावुक हुनु, पीडित हुनु त स्वाभाविक मानवीय प्रतिक्रिया हो। भदौ २४ मा सडकमा निस्किएको जुलुस पनि यही पीडाबाट जन्मिएको थियो। साथीहरूको हत्याविरुद्ध उठेको स्वाभाविक आक्रोश, न्यायको माग र राज्यप्रतिको गहिरो असन्तोष।’
उनले अगाडि भनेकी छन्, ‘तर एउटा कुरा स्पष्ट रूपमा सम्झनैपर्छ, त्यो दिन सडकमा उत्रिएको आम जनताको आक्रोश निहत्था थियो। न त्यहाँ हातहतियार थिए, न कुनै पूर्वतयारी, न कुनै रणनीतिक योजना। यति ठूलो विध्वंस आम जनताको स्वाभाविक आन्दोलनबाट सम्भव थिएन। किनभने आन्दोलनको नाममा त्यसपछि जे भयो, त्यो देशभर एकै समयमा, एकै शैलीमा, सुनियोजित र संगठित अपराधजस्तै देखिने ती घटनाहरू जेनजीले गर्ने कुरा नै थिएनन्। न त त्यस्तो स्रोतसाधन उनीहरूसँग थियो, न त यति व्यापक समन्वय।’
आन्दोलनको क्रममा राज्यका सम्पत्ति जलाइएको, तोडफोड गरिएको विद्यालयमा आगजनी गरिएको, निजी धनसम्पत्ति लुटिएको र घरभित्र मानिस जलाएर हत्या गर्ने प्रयास गरिएको चर्चा गर्दै उनले त्यस दिन व्यापार व्यवसाय ध्वस्त पारिएको उल्लेख गरेकी छन्।
‘भाटभटेनीमा जलेका १२ जनाका शवहरूको आजसम्म पहिचान हुन सकेको छैन। त्याे दिन अन्तर्राष्ट्रिय संस्थाहरू जलाउने धम्की दिइयो। मिडिया हाउसमा आगजनी गरियो, पत्रकारहरूलाई मार्ने प्रयास गरियो। गम्भीर र जघन्य अपराधमा सजाय पाएका अपराधीहरू जेलबाट भगाइए। हतियार लुटिए,’ जेनजी अगुवा पाण्डेले भनेकी छन्, ‘यी सबै कार्य हाम्रो आन्दोलनको आत्मासँग पूर्णतः विपरीत थिए। यी कार्य कुनै पनि हालतमा आम नागरिकले, विशेषगरि जेनजीले नैतिक रूपमा गर्न सक्दैनन्।’
उनले अगाडि भनेकी छन्, ‘भदौ २३ मा तत्कालीन सरकारले हाम्रा साथीहरूको हत्या गर्यो। भदौ २४ मा अपराधी स्वार्थी समूहहरूले जेनजीको मुकुट लगाएर आन्दोलनको सारमाथि प्रहार गरे, सहिदहरूको बदनाम गर्ने प्रयास गरे र न्यायको आवाजलाई आपराधिक कथामा रूपान्तरण गरे। आजसम्म पनि हाम्रो आन्दोलन र जेनजीलाई आपराधिक रूपमा चित्रित गर्ने प्रयास निरन्तर जारी छ।’
एउटा राजनीतिक समूह भदौ २४ लाई लिएर जेनजी र सहिदहरूलाई ‘आतङ्ककारी’ भनेर स्थापित गर्न खोजिरहेका पाण्डेको भनाई छ।
‘अर्को राजनीतिक समूह २४ गतेको घटनालाई सामान्यीकरण गर्दै जेनजीले ठीक गर्यो’ भनी भदौ २४ का विध्वंसहरूको जिम्मेवारी जेनजीमा थुपार्दै, भदौ २३–२४ लाई आफ्ना अनुकूल व्याख्या गर्दै त्यसलाई आफ्नो राजनीतिक हतियारको रूपमा प्रयोग गरिरहेको छ। यी दुवै गतिविधि आन्दोलनको मर्ममाथि आघात हुन् र सहिदहरूको बलिदानको खुला चरित्रहत्या हुन्।’
आन्दोलनको मर्म सुनिश्चत गर्न, सहिदहरूको न्यायका लागि भदौ २३ का हत्याराहरू र भदौ २४ का विध्वंसकारीहरू दुवैलाई कानुनी प्रक्रियामा ल्याएर सजाय दिनु अनिवार्य रहेकोमा उनको जोड छ।
‘आन्दोलनको मर्म सुनिश्चत गर्न, सहिदहरूको न्यायका लागि भदौ २३ का हत्याराहरू र भदौ २४ का विध्वंसकारीहरू दुवैलाई कानुनी प्रक्रियामा ल्याएर सजाय दिनु अनिवार्य छ। न्याय आधा हुँदैन। चयनात्मक न्यायले न्याय आउँदैन,’ पाण्डेले भनेकी छन्, ‘यदि नेपालले सहिदहरूलाई न्याय दिन सक्दैन, हिंसामा र विध्वंसमा संलग्न अपराधीहरूलाई कानूनी दायरामा ल्याउन सक्दैन भने यो देश अन्यायलाई र दण्डहीनतालाई संरक्षण गर्ने असफल राष्ट्रका रूपमा मात्र इतिहासमा सम्झिनेछ।’

Shares

प्रतिक्रिया