समाज


जापानिज इन्सेफ्लाइटिसबाट यस वर्ष ३५ जनाको मृत्यु

जापानिज इन्सेफ्लाइटिसबाट यस वर्ष ३५ जनाको मृत्यु

जापानिज इन्सेफ्लाइटिस प्रभावित क्षेत्र।


नेपालखबर
पुस ७, २०८२ सोमबार १६:४४, काठमाडौँ

लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफ्लाइटिसबाट यस वर्ष ३५ जनाको मृत्यु भएको छ। 

स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले देशभर १ हजार ७३९ जना संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको जनाएको हो। महाशाखाको खोप शाखा प्रमुख डा. अभियान गौतमले सबैभन्दा बढी लुम्बिनी प्रदेशमा ११ जनाको मृत्यु भएको जानकारी दिए। 

संक्रमितमध्ये ९१ प्रतिशत व्यक्ति जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप नलगाएहरू रहेको डा. गौतमले बताए। यस वर्ष कोसी प्रदेशमा ४१९, मधेसमा २३६, बागमतीमा २८८, गण्डकीमा २०६, लुम्बिनीमा २६७, कर्णालीमा १४२ र सुदूरपश्चिम प्रदेशमा १५८ जनामा जापानिज इन्सेफ्लाइटिस संक्रमण देखिएको उनले जानकारी दिए। 

सन् २०१४ देखि नेपालमा देखिन थालेको जापानिज इन्सेफ्लाइटिस संक्रमणबाट सन् २०२३ देखि मृत्युदर बढ्न थालेको डा. गौतमले बताए। ‘जापानिज इन्सेफ्लाइटिसबाट सन् २०२३ यताबाट ११७ जनाले मृत्यु भएको छ। मृत्यु भएकामध्ये अधिकाश ४० वर्ष माथिका खोप नलगाएकाहरू छन्,’ डा. गौतमले भने, ‘संक्रमित र मृत्यु हुनेहरू खोप नलगाएका रहेको र मृत्युदर समेत उच्च छ।’ 

साउन र भदौ महिनामा बढी देखिने जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्ने गर्छ। रातको समयमा मात्र टोक्ने यो लामखुट्टे धानखेत, सुगुर र हास पालन गरिएको स्थानमा बस्ने गर्छ। 

डा. गौतमले लामखुट्टेले टोकेको ३ जनामध्ये १ जनाको मृत्यु हुने गरेको र १ जना शरीरिक रुपमा अपांग हुने गरेको पाइएको बताए। संक्रमित क्युलेक्स लामखुट्टेले टोकेपछि उच्च ज्वरो आउने, मुर्छा पर्ने, शरीर अनियन्त्रित भएर कामिरहने, मासंपेशी कमजोर हुने, पक्षघात हुने जस्ता लक्षण देखिने गरेका छन्। 

सरकारले सन् २०१५ देखि जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप लगाउँदै आएको छ। यो खेपलाई नियमित राष्ट्रिय खोप तालिका अन्तर्गत राखेर १५ महिनामूनिका बालबालिकालाई लगाउने गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad