आज डिसेम्बर १ सुरु भएसँगै नेपालको मौसममा ‘पोस्ट-मनसुन’ सिजन अन्त्य भएर ‘विन्टर’ सुरु भएको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनले आजदेखि विन्टर सिजन अर्थात् पूर्ण रूपमा हिउँदयाम लागेको जानकारी दिइन्।
‘आजदेखि पोस्ट मनसुन सकिएर विन्टर सिजन लागेको छ’, उनले नेपालखबरसँग भनिन्, ‘यो सिजन डिसेम्बर, जनवरी र फेब्रुअरी गरी ३ महिनासम्म रहन्छ।’
उनका अनुसार अबदेखि चिसो वृद्धिका साथै उपत्यका तथा तराई क्षेत्रमा हुस्सु/कुहिरो लाग्ने क्रम बढ्छ।
‘त्यसो त उपत्यका र तराईका केही स्थानमा केही दिन अघिदेखि नै हुस्सु लाग्न सुरु भइसकेको छ’, मौसमविद् महर्जनले भनिन्, ‘अब यो क्रम अझ बढ्दै जानेछ।’
मनसुन प्रणाली अक्टोबर १० (असोज २४) मा बिदा भएपछि नेपालमा पोस्ट मनसुन सिजन सुरु भएको थियो। जुन सिजन अक्टोबरदेखि नोभेम्बरसम्म रह्यो र आजदेखि विन्टर लाग्यो।
यो सिजन सकिएपछि प्रि-मनसुन सुरु हुन्छ र यो पनि ३ महिना- मार्च, अप्रिल र मेसम्म रहन्छ। प्रि-मनसुन सकिएपछि फेरि मनसुन अर्थात् बर्खा सुरु हुन्छ।
मौसमविद्का अनुसार नेपालको मौसमलाई जम्मा ४ भागमा वर्गीकरण गरिएको छ : प्रि-मनसुन, मनसुन, पोस्ट-मनसुन र विन्टर।
Shares

प्रतिक्रिया