काठमाडौँ प्रहरीले निकोलस भुसाललाई फेरि नियन्त्रणमा लिएको छ। केही दिनअघि मात्रै ५० हजार धरौटीमा रिहा भएका भुसाललाई काठमाडौँ प्रहरीले बिहीबार साँझ पुन: नियन्त्रणमा लिएको हो।
'उहाँको मुद्दा टुंगो लागिसकेको छैन अनुसन्धानकै क्रममा हुनुहुन्छ। थप बुझ्नुपर्ने भएकाले बोलाएका हौँ,' काठमाडौँ प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले नेपालखबरसँग भने, 'आज सोधपुछ पछि उहाँ जानुहुन्छ। भोलि फेरि आउनुहुन्छ।'
यसअघि कात्तिक १८ गतेदेखि प्रहरी हिरासतमा रहेका भुसाल धरौटीमा रिहा भएका थिए। उनलाई कात्तिक २५ गते मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले ५० हजार रुपैयाँ धरौटीमा रिहा गरेको थियो।
कात्तिक २४ गते सोमबार सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र नृपध्वज निरौलाको इजलासले भुसाललाई धरौटी लिएर वा साधारण तारेखमा रिहा गर्न आवश्यक प्रक्रिया मिलाउनु भनि आदेश जारी गरेको थियो।
भुसाललाई प्रहरीले गोरखाको सरस्वती आश्रमबाट कात्तिक १८ गते पक्राउ गरेर काठमाडौँ ल्याएको थियो। भुसालले कात्तिक १३ गते संवाद डबलीको कार्यक्रममा प्रहरीसहित राष्ट्रका महत्वपूर्ण निकाय विस्फोट गरेर ध्वस्त बनाइदिने अभिव्यक्ति दिएका थिए।
सोही कारण पक्राउ गर्नु अभिव्यक्ति स्वतन्त्रता र वैयक्तिक स्वतन्त्रताविपरित भएको भन्दै भुसाल रिहाइको माग गर्दै सर्वोच्चमा निवेदन दर्ता भएको थियो।
निजको साथबाट कुनै विस्फोटक पदार्थ वा हातहतियार आदि बरामद भएको वा निज कुनै कसुर गरिरहेको अवस्थामा पक्राउ परेको नदेखिएको अदालतले भनेको थियो। भुसालको बयानसमेत भइसकेको स्थितिमा थुनामै राखी अनुसन्धान गर्नु पर्ने अवस्था नदेखिएको भन्दै अदालतले रिहा गर्न आदेश दिएको थियो।
धरौटी बुझाएपछि भुसाललाई परिवारको जिम्मा लगाएर छाडिएको हो। यसअघि पनि पक्राउ पर्दा भने भुसालले लागुऔषध खाएको पाइएपछि प्रहरीले सुधार केन्द्र लैजाने सर्तमा परिवारको जिम्मा लगाएको थियो। तर परिवारले सुधार केन्द्र लगेका थिएनन्। प्रहरी हिरासतबाट छुटेपछि उनले अराजक अभिव्यक्ति दिएका थिए।
Shares

प्रतिक्रिया