कारोबार


नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरण: छानबिन समितिले बुझायो प्रतिवेदन

नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरण: छानबिन समितिले बुझायो प्रतिवेदन

नेपालखबर
मंसिर ४, २०८२ बिहिबार १९:१६, काठमाडौँ

नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरणका सम्बन्धमा गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ। छानबिन समितिका संयोजक पूर्वसचिव मणिराम गेलालले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई उक्त प्रतिवेदन हस्तान्तरण गरेका हुन्।

प्रतिवेदन बुझ्दै मन्त्री खरेलले मन्त्रालयको आन्तरिक प्रयोजनका लागि समिति गठन गरिएको उल्लेख गर्दै प्रतिवेदनका आधारमा नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रक्रिया अवरुद्ध नहुने स्पष्ट पारे। 

‘नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रक्रियामा प्रतिवेदन आफैले अवरोध गर्दैन, नेपाल टेलिकम कानूनको परिधिभित्र रहेर निर्णय गर्नका लागि स्वतन्त्र छ’, उनले भने। 

मन्त्री खरेलले बिलिङ खरिद प्रक्रियाका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट समेत चासो राख्दै पत्र प्राप्त भएकाले सन्दर्भ सामग्रीका रुपमा अध्ययन प्रतिवेदन तयार पारिएको बताए।

आफूले भर्खरै प्रतिवेदन प्राप्त गरेको र अध्ययनको चरणमै रहेको उनको भनाइ थियो। प्रतिवेदनले दिएका सुझावहरु आगामी दिनमा खरिद प्रक्रियाका लागि सहयोगी हुने मन्त्री खरेलले बताए।

छानबिन समितिका संयोजक पूर्वसचिव गेलालले यस अध्ययन प्रतिवेदनले नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रक्रियामा भएका गोप्य बोलपत्र मूल्याङ्कनलाई प्रभावित नहुने स्पष्ट पारे। 

‘हामीले प्रतिवेदनमार्फत नेपाल टेलिकमले प्रतिष्पर्धी बजारमा आफूलाई स्थापित गराउन र सेवाग्राहीका व्यक्तिगत विवरणको गोपनीयता तथा सुरक्षाका सम्बन्धमा केही सुझाव पनि दिएका छौँ’, उनले भने।

पूर्वसचिव गेलाल संयोजक रहेको छानबिन समितिको सदस्यहरुमा सहसचिवत्रय गौरव गिरी, आदेश खड्का र कृष्ण पन्त, दूरसञ्चार प्राधिकरणका उपनिर्देशक प्रदीप पौडेल, नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका प्रबन्धक डा कमल लामिछाने र मन्त्रालयका उपसचिव राजेश थापा थिए। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad