अमेरिकाले प्रदान गर्ने डाइभर्सिटी भिसा (डिभी) को परिणाम कोरोना भाइरस (कोभिड—१९) का कारण प्रभावित भएको छ। पूर्व घोषित मितिअनुसार डिभी प्रारम्भिक परिणाम मे ५ (वैशाख २३) मा हुनुपर्ने हो।
अमेरिकी विदेश मन्त्रालयको आधिकारिक सूचनाअनुसार डिभीको परिणाम यो वर्ष पूर्व निर्धारित सो मितिमा सार्वजनिक हुने छैन।
सन् २०१९ अक्टोबरदेखि नोभेम्बरसम्म धेरै नेपालीले डिभी चिट्ठा भरेका छन्। स्टेट डिपार्टमेन्टले अप्रिल २७ (वैशाख १५) मा डिभीसम्बन्धी एक सूचना जारी गर्दै परिणाम एक महिना ढिलो जुन ५ (जेठ २३) मा सार्वजनिक हुने जनाएको छ।
‘स्रोध साधन कोरोना भाइरस समाधान गर्न केन्द्रित भएका कारण चिट्ठा परिणाम एक महिना पर सारिएको हो’, स्टेट डिपार्टमेन्टको ब्युरो अफ काउन्सिलर अफेयर्सले भनेको छ, ‘नतिजा सार्वजनिक हुन ढिलो भए पनि अमेरिकाका जान लिइने अन्तर्वार्ता समयमा कुनै परिवर्तन हुने छैन।’
यस्तो छ स्टेट डिपार्टमेन्ट, ब्युरो अफ काउन्सिलर अफेयर्सको सूचना

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार डिभी परे/नपरेको थाहा पाउन आधिकारिक वेबसाइटबाट मात्र परिणाम जाँच गर्नुपर्ने हुन्छ। त्यसका लागि ठेगाना https://dvlottery.state.gov रहेको छ। डिभी विजेताहरुलाई इमेल वा पत्राचारमार्फत् जानकारी गराइँदैन।
स्टेट डिपार्टमेन्ट, काउन्सिलर अफेयर्सका अनुसार आगामी अक्टोबर १ देखि डिभी विजेताहरुको अन्तर्वार्ता सुरु हुनेछ।
पहिलो नतिजा प्रारम्भिक मात्रै
मार्च ५ मा सार्वजनिक हुने डिभीको प्रारम्भिक परिणाम मात्र हो। यसमा छनौट हुनु पहिलो चरणको प्रक्रिया पार गर्नु मात्र हो। यसमा छानिएकाहरुले दोस्रो फर्म भर्ने एवं अमेरिकी दूतावासले भिसा नदिएसम्म डिभी पर्नेहरुको अमेरिका बसाइँ सराइ निश्चित हुँदैन।
धेरैलाई दोस्रो फर्मको सूचना आउँदैन। नेपालबाट प्रत्येक वर्ष लाखौंले अमेरिकी डिभी चिट्ठा भर्दै आएका छन्।

प्रतिक्रिया