आज (मंसिर ३ गते) रानीपोखरीको पारिपट्टी रहेको दरबार हाइस्कुलको दृश्य बेग्लै थियो। सधैँ विद्यार्थी पढाउन कक्षाकोठा पुग्ने शिक्षकहरु आफैं पढ्न कक्षाकोठामा भेला भए। उनीहरूसँग केही विद्यार्थी समेत थिए। शिक्षकहरूले अकस्मात मुटुले काम गरेन भने के गर्ने भन्ने बारेमा चासोपूर्वक सुनेर बसे।
विद्यालयमा कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर) तालिम आयोजना गरिएको थियो। हाप्सा नेपाल नामक गैरसरकारी संस्थाले स्कूलका शिक्षकलाई सीपीआर तालिम दिएको हो। आकस्मिक अवस्थामा मुटुले काम गर्न छोडेको समयमा कसरी जीवन रक्षा गर्न सकिन्छ भन्नेबारे जानकारी दिन संस्थाले पहिलो पटक विद्यालयमा तालिम दिन सुरु गरेको हो।
हाप्सा नेपालका संस्थापक डा रामु खरेलले विद्यालयतह देखि नै सीपीआर तालिम दिन सकिए ह्रदयाघात, कार्डियाक अरेस्ट भएर बेहोस भएका व्यक्तिलाई बचाउन सकिने बताए।
डा खरेलले कक्षा १० सम्मको पाठ्यक्रममा नै सीपीआर तालिम सम्बन्धी पठन पाठन हुनु पर्ने भन्दै सीपीआरलाई पाठ्यक्रममा राख्न शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई ज्ञापन पत्र बुझाएका पनि छन्।

‘सीपीआर तालिम विद्यालयतहदेखि नै आवश्यक छ। हामीले पहिलो पटक विद्यालयमा तालिम सुरु गरेका छौँ,’ डा खरेलले भने,‘ विद्यालयतहदेखि नै सीपीआर सम्बन्धी ज्ञान दिन मुटु सम्बन्धी विभिन्न कारणले बेहोस भएका व्यक्तिलाई तत्काल बचाउन सकिन्छ।’
अचानक मुटुको धड्कन तथा श्वास प्रस्वास रोकिएको अवस्थामा तत्काल सीपीआर दिए जीवन बचाउन सकिन भन्दै उनले सामान्य ज्ञानको अभावका कारण धेरैले अकालमा ज्यान गुमाउनु परेको बताए। त्यसैले शिक्षकबाटै तालिम सुरु गरेको उनी सुनाउँछन्।
‘अचेत वा श्वासप्रस्वास बन्द भएको समयमा तुरुन्तै सीपीआर गर्दा जीवन रक्षा गर्न सहयोग हुन्छ। तत्काल सीपीआर दिँदा रक्त संचार कायम राख्ने, मस्तिष्कमा आवश्यक अक्सिजन पुर्याउनुका साथै श्वास प्रस्वासलाई पुनः सुरु गर्न मद्दत गर्छ,’ डा खरेलले भने।
उनका अनुसार सीपीआर प्रभावकारी ढंगले दिन सक्ने हो भने मानिसको बाँच्ने सम्भावनालाई तीन गुणासम्म बढाउन सकिन्छ।

तालिम प्रदान गर्दै अछामको बयलपाटा अस्पतालका चिकित्सक डा मनदीप पाठकले नेपालमा सार्वजनिक स्थानहरूमा यस्ता तालिम प्राप्त व्यक्ति आवश्यकता भएको बारेमा जोड दिए।
तालिमका सहभागी दरबार हाइस्कूलकी प्रध्यानाध्यापक सारदा पौडेलले विद्यालयमा देखिने स्वास्थ्य समस्यामा प्राथमिक उपचार कसरी दिने भन्नेबारे जानकारी पाएको बताइन्।
कार्यक्रममा हाप्सा नेपालले आकस्मिक सामुदायिक रेस्पोन्स टूलकिटको मोबाइल एप सार्वजनिक गरेको थियो। यसबाट आपत्कालीन चोटपटक लाग्दा कसरी हेरचाह गर्ने भन्ने जानकारी दिने जनाइएको छ।
Shares

प्रतिक्रिया