समाज


दाहसंस्कारका लागि कति समय कुर्नुपर्छ?

दाहसंस्कारका लागि कति समय कुर्नुपर्छ?

नेपालखबर
मंसिर ३, २०८२ बुधबार १४:४७, काठमाडौँ

पशुपति आर्यघाट परिसरस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कारका लागि कति समय कुर्नुपर्ला? तपाईंलाई लाग्दो हो पालो पर्खन नपर्ला। तर शवदाह गृह सञ्चालनको जिम्मा पाएको पशुपति क्षेत्र विकास कोषका कारण पछिल्ला केहीदिनयता कम्तीमा तीनदेखि चार घण्टासम्म शवदाहका लागि लाइनमा राख्नुपर्ने बाध्यता देखिएको छ। 

विद्युतीय गृहमा मङ्गलबार साँझ ६ः३० बजेसम्म करिब ११ शवदाह गरिएका कोषले जनाएको छ। ‘विदेशबाट शव ल्याउन तीन हप्ता लाग्यो, यहाँ चार घण्टा लाइन बस्दा के हुन्छ? घाटको उचित व्यवस्थापन कहिले होला?’, मृतकका एक आफन्तले पालो कुर्दै प्रश्न गरे। केही आफन्तजनले आफूहरूले शवदाहका लागि पाँच घण्टासम्म कुर्नुपरेको गुनासो गरेका गरेका छन्। 

कोषका निमित्त सदस्यसचिव शुभाषचन्द्र जोशीले भने, ‘विद्युतीय शवदाह गृहका उपकरणमध्ये एकमात्र सञ्चालनमा रहेकाले  दाहसंस्कारका लागि लाइनमा बस्नुपर्ने बाध्यता आएको हो। बिग्रिएका विद्युतीय शवदाह उपकरण मर्मतका लागि कोषले केही प्रयास गरेको छैन? भन्ने जिज्ञासामा उनले थपे, ‘आशा गरौँ छिट्टै नतिजा आउला।’

केहीले आर्यघाटमा शवदाह गर्न निकै लामो लाइन कुर्नुपर्ने भएकाले आफूहरूले विद्युतीय शवदाह गृहमा शव ल्याएको बताएका छन्। पछिल्ला दिनमा विशेष गरेर विविध कारणले विदेशमा मृत्यु भएकाको विद्युतीय शवदाह गृहमा संस्कार हुँदै आएको कोषले जनाएको छ।

पशुपति आर्यघाटमा शवको दाहसंस्कार गरेबापत् दाउराबाट जलाउने घाटमा रु १५ हजार र विद्युतीय शवदाह गृहमा रु चार हजार शुल्क तोकिएको छ। करिब रु ११ करोडको लागतमा बनेको विद्युतीय शवदाह गृह विसं २०७२ माघ १० गतेदेखि सञ्चालनमा आएको हो। विद्युतीय शवदाह गृहमा एउटा शव जल्न कम्तीमा ४५ मिनेट लाग्ने जनाइएको छ। 
 
यसैबीच, विद्युतीय शवदाह गृह भवन र परिसरमा रहेका शौचालय सेवाग्राहीले प्रयोग गर्ने अवस्थामा छैनन्। नाक, मुख थुनेर शौचालय प्रयोग गर्नुपर्ने अवस्था रहेको सेवाग्राहीको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad