समाज


सिंहदरबार परिसरमा सर्दै स्वास्थ्य मन्त्रालय

सिंहदरबार परिसरमा सर्दै स्वास्थ्य मन्त्रालय

नेपालखबर
मंसिर ३, २०८२ बुधबार १४:१७, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारदेखि सिंहदरबारबाट सेवा प्रवाह गर्ने भएको छ।

सिंहदरबार परिसरको दक्षिण-पश्चिमतर्फ रहेको नेपाली सेनाको नर्सिङ दल गणको खाली जग्गामा मन्त्रालय सञ्चालनको लागि अस्थायी संरचना निर्माण गरिएका छन्। बिहीबारदेखि सोही क्षेत्रबाट कामकाज सुरु गर्ने तयारी भइरहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए। 

उनका अनुसार, नेपाली सेनाको गण उत्तरतर्फ आफ्नै भवनमा सरेपछि विश्व स्वास्थ्य संगठनको सहयोगमा त्यहाँ रहेको खाली जग्गामा ६ वटा प्रिफ्याब भवन निर्माण गरिएका छन्। गत भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा आगलागीका कारण रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयको भवन जलेर ध्वस्त भएको थियो। 

‘भदौ २४ गते जेनजी आन्दोलनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुनःनिर्माण गरेर बस्न लायक बनाउने स्थिति थिएन। त्यस अवस्थामा प्रधानमन्त्री कार्यालयसँग समन्वय गरेर सिंहदरबार कम्पाउण्डको दक्षिण–पश्चिम क्षेत्रमा नेपाली सेनाले प्रयोग गर्दै आएको खालि जग्गा माग गरेका थियौं,’ बुढाथोकीले भने।

हाल नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को नयाँ भवनबाट स्वास्थ्य मन्त्रालयले काम गरिरहेको छ। प्रवक्ता बुढाथोकीले जनसंख्या महाशाखा र स्वास्थ्य आपतकालीन केन्द्रबाहेकका सबै कारबाही बिहीबारदेखि स्वास्थ्य मन्त्रालयबाटै हुने जानकारी दिए। उनले बाँकी संरचनाको व्यवस्थापन भएपछि केही दिनमै मन्त्रालय पूर्ण रुपमा सिंहदरबार सर्ने बताए। 

त्यो जग्गामा अस्थायी संरचना बनाउनको लागि विश्व स्वास्थ्य संगठनसँग सहयोग मागिएको थियो। त्यहीअनुसार ६ वटा विल्डिङ र सेनाले विगतमा प्रयोग गरेका ६ वटा टहरालाई पनि प्रयोग गरेर स्वास्थ्य मन्त्रालय सिंहदरबार सर्न लागेको हो। ६ वटा प्रिफ्याब बिल्डिङ बुधबार डब्लुएचओको क्षेत्रीय प्रमुखले स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ। 

‘भोलिदेखि स्वास्थ्य मन्त्रालय सिंहदरबार सर्छ। तर अझै पनि एकाइ, शाखा र केन्द्रहरूलाई समेत सार्न सम्भव नभएको हुनाले जनसंख्या महाशाखा र स्वास्थ्य आपतकालीन केन्द्र हाल सोही भवनमा रहन्छ,’ प्रवक्ता बुढाथोकीले भने, ‘अबको केही दिनमा बाँकी दुई शाखालाई पनि सिंहदरबारबाटै सञ्चालन गर्छौं।’

मन्त्रालयको कामकाज सुरु गर्न सेनाले प्रयोग गर्दै आएका संरचनामा समेत रंगरोगन गरेर तयार पारिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad