समाज


लुटिएका हतियार खोज्न सेनासहितको विशेष अप्रेसन चलाइँदै

लुटिएका हतियार खोज्न सेनासहितको विशेष अप्रेसन चलाइँदै

नेपालखबर
कात्तिक ३०, २०८२ आइतबार २२:२०, काठमाडौँ

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते लुटिएका सुरक्षाकर्मीका हतियार खोज्न विशेष अप्रेसन चलाउने निर्णय भएको छ। 

आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले आगामी निर्वाचनका लागि सबैभन्दा चुनौती नै लुटिएका हतियार र फरार कैदीबन्दी रहेको निष्कर्षसहित त्यसका लागि चारवटै सुरक्षाकर्मी सम्मिलित अप्रेसन चलाउनु पर्ने निर्णय गरेको हो। 

केन्द्रीय सुरक्षा समितिको बैठकले यसका लागि जिल्ला सुरक्षा समितिलाई निर्देशन दिनेछ। त्यसपछि जिल्ला सुरक्षा समितिले आ आफ्नो जिल्लामा नेपाली सेनासहित चार वटै सुरक्षाकर्मीको संयुक्त अप्रेसन चलाएर हतियारको खोजी गर्न थाल्नेछन्। 

प्रहरी प्रधान कार्यालयका अनुसार अझै ६ सय जति हतियार फेला परेका छैनन्। जेनजी आन्दोलनका क्रममा काठमाडौँसँगै उपत्यका बाहिरका जिल्लाबाट पनि प्रहरीका हतियार लुटपाट भएका थिए। तीमध्ये केही त्यतिबेलै नेपाली सेनालाई बुझाएका थिए भने कतिपय पछि प्रहरीले बरामद गरेको थियो। 

अहिले पनि दिनहुँ छिटफुट हतियार बरामद भइरहेको छ। प्रहरीले पछिल्लो समय लुटिएका हतियार केन्द्रीय अप्रेसन चलाइरहँदा पनि अपेक्षित हतियार फिर्ता आउन नसकेपछि अन्य सुरक्षा निकायसहितको अप्रेसन चलाउने निर्णय भएको हो। 

निर्वाचनमा फरार कैदीबन्दीलाई पनि सुरक्षा जोखिमको रुपमा लिइएको छ। तर उनीहरू कतिपय देशै छाडेर भागेका, कतिपय पक्राउ पर्ने क्रम चलिरहेकाले हतियारलाई केन्द्रित गरेर संयुक्त अप्रेसन चलाउन लागिएको हो। 

निर्वाचनलाई लक्षित गरेर सबै जिल्लालाई आ–आफ्नो क्षेत्रको सुरक्षा योजना प्रस्तुत गर्न पनि भनिएको छ। यसअघि गृह मन्त्रालयले सहसचिव आनन्द काफ्लेको संयोजकत्वमा एकीकृत निर्वाचन सुरक्षा योजना तयार गर्न समिति बनाएको थियो। समितिमा चार वटै सुरक्षा निकायका प्रतिनिधि सामेल थिए। 

यो समितिको सिफारिस अनुसार नै निर्वाचन सुरक्षाका लागि थप बदम चाल्न लागिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad