समाज


३८ पटकसम्म पक्राउ परेका व्यक्ति समूह बनाएरै चोरी धन्दामा, भक्तपुरबाट ८ जना समातिए

कार र मोटरसाइकल लिएर जान्थे चोर्न
३८ पटकसम्म पक्राउ परेका व्यक्ति समूह बनाएरै चोरी धन्दामा, भक्तपुरबाट ८ जना समातिए

नेपालखबर
कात्तिक २७, २०८२ बिहिबार २०:३, काठमाडौँ

भक्तपुर जिल्लाका विभिन्न स्थानहरूमा संगठित समूह बनाई योजनाबद्ध तरिकाले पाकेटमारी, लुटपाट, जबरजस्ती चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा विभिन्न जिल्ला घर भइ भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका–८ बस्ने युवाहरूको समूह रहेको छ।

प्रहरीले काभ्रेपलान्चोक जिल्लाको भुम्लु गाउँपालिका–३ का वर्ष २६ को साधुराम भुजेल, मोरङको पथरी शनिश्चरे नगरपालिका–९ का वर्ष ४३ को कृष्ण बहादुर खड्का, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का वर्ष २३ की अनु गजमेर, रामेछापको  दोरम्बा गाउँपालिका–८ का वर्ष २२ को विशाल तामाङ, काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका–३ का वर्ष २६ को सुदिप भण्डारी, भुम्लु गाउँपालिका–३ का वर्ष १८ को राजिव भण्डारी, महाभारत गाउँपालिका–६ घर भएका वर्ष २७  को सुरज तामाङ र भुम्लु गाउँपालिका–३ का वर्ष २९ को सुजन भण्डारी रहेका छन्। 

उनीहरूको साथबाट प्रहरीले पहेँलो धातुको ब्रासलेट थान–१, औँठी थान–२, झुम्का १ जोर, सिक्री थान–१ बरामद गरेको छ। 

यसैगरी १०० दरको अमेरिकन डलर २८ थानको २८००, भारतीय रुपैयाँ  ६ हजार ६९०, नेपाली नगद रु ४ लाख २८ हजार ८८० फेला पारेको छ। 

यस्तै, मोबाइल थान–१४, क्यामेरा थान–१, सर्जिकल व्लेड थान–१, मोटरसाइकल थान–४ र बा ४ च ३९१६ नं को कार पनि प्रहरीले बरामद गरेको छ। 

अनुसन्धानका क्रममा उनीहरू पाकेटमारी, चोरी, लुटपाट गर्नको लागि समूह बनाई एउटै स्थानमा बस्ने गरेको पाइएको छ। उनीहरूले चोरी कार्यमा मोटरसाइकल तथा कार प्रयोग गर्ने गरेका प्रहरीले जनाएको छ।

सार्वजनिक सवारी साधनहरूमा सबै जना सँगै चढ्ने र टार्गेट छनौट गर्ने गरेको, पैसा बोकेका, सुनका गरगहनाहरू लगाएका व्यक्तिहरूको निगरानी गरी पहिचान गर्ने गरेको, संगठित भई जबरजस्ती चोरी तथा लुटपाट समेत गर्ने गरेको, गाडीबाट ओर्लिंदा सबै व्यक्ति एकै पटक नओर्लिई पालै पालो विभिन्न स्थानहरूमा ओर्लिने गरेको, पाकेटमारी, चोरी, लुटपाट गरेका धनमालहरू समूहमा बाँडफाँड गर्ने गरेको, पैदलयात्री, दुई पाङग्रे सवारी साधनहरूमा यात्रा गर्ने मानिसहरूको साथमा भएको सिक्री समेतका गरगहनाहरू लुटपाट गर्ने गरेको अनुसन्धानमा खुलेको छ। 
 
पक्राउ परेका व्यक्तिहरू मध्येका कृष्ण बहादुर खड्कालाई चोरी, लुटपाट समेतका घटनाहरूमा ३८ पटक पक्राउ गरी मुद्दा चलाएको देखिन आएको छ।

उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको प्रहरी टोलीले यही कात्तिक २६ गते पक्राउ गरेका उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad