नेपाल प्रहरीको इतिहासमै सबैभन्दा सहज रूपमा प्रहरी महानिरीक्षक (आईजीपी) बनेका थिए चन्द्रकुबेर खापुङ। भदौ १९ गतेदेखि कार्यभार सुरु हुने भए पनि सरकारले ६ दिनपहिले नै खापुङलाई आईजीपी नियुक्त गर्ने निर्णय गरिसकेको थियो।
जबकि, खापुङ आईजीपी हुँदै गर्दा उनका ब्याचका कोही पनि सेवामा थिएनन्। दीपक थापाको अवकाशपछि खापुङ नै आईजीपी हुने पहिल्यै निश्चित जस्तै थियो।
७० दिन प्रहरी संगठनको नेतृत्व गरेर खापुङ बुधबार बिदा भए। ३० वर्षे सेवा अवधिका अन्तिम दुई महिना भने खापुङलाई निकै भारी पर्यो। जसले उनलाई जीवनभर घोचिरहनेछ।
बुधबार बिहान प्रधानमन्त्री सुशीला कार्कीबाट बिदा भएका उनलाई दिउँसो गृहमन्त्री ओमप्रकाश अर्याल र गृहसचिव रामेश्वर दंगालले बिदाइ गरे। साँझ प्रहरी मुख्यालयबाट बिदा भएर बानेश्वरस्थित घर पुगे। आफ्नै घरअगाडि भदौ २३ र २४ गते भएका घटनाले अब पनि खापुङलाई निमोठिरहनेछ।
भदौ १९ गते तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीबाट आईजीपीको फुली लगाएपछि गृह मन्त्रालयमा खापुङले प्रण गरेका थिए, ‘आफू जति समय प्रहरी नेतृत्वमा रहे पनि सकेको राम्रो गर्छु। तर नराम्रो गर्नेछैन।’
७० दिनको एकदमै छोटो कार्यकाल उनले सोचेजस्तो भएन। खापुङ प्रहरीको सर्वोच्च कमान्डर बनेको एक हप्ता नपुग्दै जेनजी आन्दोलन भयो। २३ गते काठमाडौँमा भएको जेनजी आन्दोलन भोलिपल्ट देशव्यापी बन्यो। आन्दोलनमा ३ प्रहरी र १० कैदीसहित ७६ जना मारिए। नराम्रो नगर्ने प्रण गरेका खापुङ नेतृत्वकै प्रहरीको गोलीले ४२ जना सहिद भए।
२३ गते माइतीघरबाट शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शन नयाँ बानेश्वर पुगेर प्रहरीमाथि जाइलाग्यो। निषेधित क्षेत्रको सीमामा राखिएका प्रहरीका ब्यारिकेड तोडियो। त्यसपछि अगाडि बढेर प्रदर्शनकारीले संघीय संसद् भवनको पर्खाल भत्काउन थाले, गेटमा आगो लगाउन थाले। केही प्रदर्शनकारी पर्खाल नाघेर भित्रै छिरे।
त्यसक्रममा प्रहरीले गोली चलायो। १९ जना त्यसैदिन मारिए। हजारौँ घाइते भए काठमाडौँका अस्पताल प्रहरीको गोली लागेका घाइतेहरूले भरिभराउ भए। मारिनेको संख्या बढ्दै गयो।
देश पूरै अशान्त बन्यो। खापुङका पनि कमान्डर गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर उम्किए। २४ गतेको आन्दोलन थामिनसक्ने हुने प्रहरीलाई पनि पूर्वानुमान भइसकेको थियो। खापुङ कार्यकालमा त्यसदिन प्रहरी इतिहासमै सबैभन्दा निरीह भयो।
आन्दोलनकारीले तीन प्रहरीलाई कुटीकुटी मारे। प्रहरीका हजार बढी हतियार, लाखौँ गोलीगट्ठा खोसियो। प्रहरी मुख्यालय जोगाउनै हम्मेहम्मे पर्यो। देशभर सयौँ प्रहरी कार्यालय जले। बालुवाटारबाट सेनाको हेलिकप्टरमा सैनिक मुख्यालय भद्रकाली ओर्लिनु पर्ने दिन प्रहरी नेतृत्वलाई नै आइलाग्यो।
संसद् भवन जल्यो, सिंहदरबार जल्यो। सर्वोच्च अदालतसहितका निकाय पनि सुरक्षित रहन सकेनन्। प्रधानमन्त्री र राष्ट्रपतिका निवासमा आगो दन्कियो। मन्त्रीहरूलाई नेपाली सेनाले हेलिकप्टरमा ओसार्यो। त्यतिबेला यस्तो भयो– सुरक्षाकर्मी आफै सुरक्षित हुन सकेनन्।
कहीँ प्रहरीले हतियार बुझाएर आत्मासमर्पण गरे। कहीँ खोलामा चोबलियो र वारिपारिबाट ढुंगा बर्साइयो। कतै हेलिकप्टरबाट उद्धार गरेर प्रहरीकै ज्यान जोगाउनु पर्यो। यी दिन न प्रहरी कर्मचारीले बिर्सन सक्छन्, न त अवकाश भएका आईजीपी खापुङले नै।
यी घटनाको जाँचबुझ गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग बनाएको छ। आयोगले धमाधम प्रहरी कर्मचारीलाई बोलाएर बयान लिइरहेको छ। फिल्ड कमान्डरबाट सुरु भएको बयान तत्कालीन प्रहरी नेतृत्वसम्म पुगे खापुङले फेरि सिंहदरबार फर्किएर जवाफ दिनु पर्ने हुन्छ।
जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माले यसअघि नै आवश्यकता अनुसार तत्कालीन नेतृत्वसम्म बयानका लागि पुग्ने संकेत गरिसकेका छन्। आयोगलाई भदौ २३ र २४ गतेका घटना जाँचबुझ गरेर कारबाही सिफारिस गर्ने अधिकार समेत छ।
कारबाहीको जोखिममा धेरै प्रहरी देखिएका छन्। खापुङ कहाँसम्म तानिन्छन्, त्यो अझै स्पष्ट छैन।
संकटमा पनि छाडेनन् अडान
‘म निर्भीकताका साथ भन्न सक्छु, अब बाँकी अवधि मेरा लागि भन्दा पनि जन्मभूमि, संगठन र यसमा आबद्ध सकल दर्जाका हितका खातिर समर्पित हुनेछु,’ नियुक्त भएकै दिन खापुङले भनेका थिए।
बिदाइ हुने केही दिनअघि उनले पुनः यस्तै अडान दोहोर्याए र जेनजी आन्दोलनमा खटिएका प्रहरीलाई कारबाही गर्ने कुराको प्रतिवाद गरे।
‘यस्तो प्रदर्शनमा व्यक्तिको निजी सम्पत्तिमा प्रहार हुनु भनेको आतंकवादको नमुना हो। निजी सम्पत्तिहरूमा गरिने आक्रमण आतंकवादको अभ्यास हो कि भन्ने महसुस हुन्छ। जब तपाईंको घर सुरक्षित छैन, मेरो घर सुरक्षित छैन भने आतंकवादको सुरूआत हो,’ ५ दिनअघि ईमेज टेलिभिजनलाई अन्तर्वार्ता दिँदै खापुङले भनेका छन्, ‘यो क्रम रेगुलर रहने हो भने के होला? प्रदर्शनकारी यस्तै गर्दै जाने, आम सोसल मिडियाबाट मानिसको दिमागमा बारुद भर्दै जाने हो भने देश, समाज र हामी रहन्छौँ?’
भदौ २३ गते गोली चलाउने परिस्थितिमा पनि प्रहरीलाई नै दोषी देखेको र २४ गते गोली नचलाउँदा पनि प्रहरीमाथि नै प्रश्न उठाइएकोमा उनले असन्तुष्टि जनाए। संसद् भवन, सिंहदरबारजस्ता संरचना जोगाउन विशेष फोर्स रहने र उनीहरूलाई गोली चलाउने अधिकार रहेको दाबी गर्दै यसै आधारमा कारबाही गर्ने हो भने प्रहरी संरचना नै राज्यले नराखे हुने चेतावनी दिए।
‘मैले यसबीचमा सिपाही, हवल्दारसँग भेटेर कुरा गरेको छु। कानुन बमोजिम कामकारबाही गर्दा पुलिसलाई किन छानबिनको दायरमा ल्याइन्छ? आज मेरा प्रहरीले पानी खान नपाएर पनि काम गरिरहेका छन्, राज्यप्रतिको जिम्मेवारीमा प्रहरी हिजो पनि आज पनि प्रतिबद्ध छ,’ खापुङले थपे, ‘कहिलेकाहीँ लाग्छ, ती सिपाहीको आवाज कसले बोल्ने? जुन प्रहरीले पानी नखाई, भोकभोकै लडेको छ उसैले आज बयानको लागि धाइराख्ने परिस्थिति आउँछ भने कसले बोल्ने? आईजीपीले बोल्नुपर्यो नि!’
त्यसअघि खापुङले प्रधानमन्त्री र गृहमन्त्रीसँग पनि ठूलो रस्साकस्सी गर्नु परेको थियो। सुदन गुरुङसहितले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गरेर कारबाही अगाडि बढाउन माग गर्दै जाहेरी दिएका थिए।
उक्त जाहेरी दर्ता गरेर कारबाही अगाडि बढाउन उनलाई सरकारको दबाब थियो। तर छानबिन समितिको प्रतिवेदन पहिले कारबाही गर्न नमिल्ने भन्दै उजुरी तामेलीमा राख्ने निर्णय गरे। बरु आयोगमा २४ घण्टे स्पष्टीकरण बुझाए तर आफ्ना कर्मचारीलाई कारबाही गर्ने कुरामा सहमति जनाएनन्।
उनले आफ्नो कार्यकालभर प्रहरी कर्मचारीको सरुवा बढुवा पनि निर्विवाद बनाए। उनी जाँदै गर्दा पहिलो नम्बरका एआईजी दानबहादुर कार्कीलाई नेतृत्व हस्तान्तरण गरेका छन्।

प्रहरी मुख्यालयमा बुधबार साँझ बिदाइ समारोहलाई सम्बोधन गर्दै खापुङले प्रहरी संगठनको महानिरीक्षकको रूपमा देश र जनताको सुरक्षाको जिम्मेवारी बहन गर्ने अवसर पाउनु आफ्नो जीवनको सर्वश्रेष्ठ सम्मान भएको बताए।
आफ्नो छोटो नेतृत्व कालमा सामना गर्नुपरेको राजनीतिक परिवर्तनको परिवेशमा नेपाल प्रहरीको अस्तित्व जोगाई प्रहरीको मनोबल उकास्दै सांगठनिक मूल्यमान्यता, भाइचारा र अपनत्वभाव कायम गर्न हरसम्भव कोसिस गरेको पनि उनको भनाइ छ।
अब संगठनलाई भौतिक रूपले सम्पन्न र भावनात्मक हिसाबले अझै एक ढिक्का बनाइराख्न नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई विशेष भूमिका खेल्न पनि उनले सुझाव दिए।
आफ्नो कार्यकालमा सम्पादन भएका र प्रहरी संगठनमा हाल सञ्चालनमा रहेका महत्वपूर्ण कार्यहरू समेटिएर तयार गरिएको कार्यसम्पादन प्रतिवेदन पनि उनले कार्कीलाई हस्तान्तरण गरेका छन्। अब खापुङले अधुरा छाडेका जिम्मेवारी उनै कार्कीको काँधमा छन्। २९ महिना नेतृत्व गर्दा कार्कीलाई अब जाँचबुझ आयोगको सामना गर्नेदेखि निर्वाचन सुरक्षा र प्रहरीको मनोबल उकास्ने प्रमुख जिम्मेवारी रहनेछ।
तर आईजीपीको जिम्मेवारीबाट अलग भइसकेका खापुङलाई पनि जेनजी आन्दोलनको भारीले पूरै अलग रहन भने दिनेछैन।
Shares

प्रतिक्रिया