समाज


फाराम भर्न लगाउने साथी इन्स्पेक्टर नै भएनन्, अरूको ढिपीले भिडेका दानबहादुर आईजीपी भए

२९ महिना प्रहरी संगठन हाँक्ने जिम्मा
फाराम भर्न लगाउने साथी इन्स्पेक्टर नै भएनन्, अरूको ढिपीले भिडेका दानबहादुर आईजीपी भए

उजिर कार्की
कात्तिक २५, २०८२ मंगलबार २०:२७, काठमाडौँ

सरकारले नेपाल प्रहरीको ३३ औँ महानिरीक्षक (आईजीपी) मा दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार आईजीपीबाट चन्द्रकुवेर खापुङको अवकाशपछि बिहीबार दर्ज्यानी चिन्ह लगाउँदै कार्कीले प्रहरी संगठनको बागडोर सम्हाल्नेछन्। 

त्यसपछि उनले २९ महिना प्रहरीको कमान्ड गर्नेछन्। 

आज प्रहरीको नेतृत्वमा पुगेका कार्की २८ वर्षपहिले प्रहरी निरीक्षकमा भर्ना हुन भने मानेका थिएनन्। परिवारको सल्लाह अनुसार परराष्ट्र सेवाको तयारीमा लागेका उनलाई साथीले प्रहरी निरीक्षक (इन्सपेक्टर) को फाराम भरिदिन र आफू पनि भर्न ढिपी गर्नु परेको थियो।  

आफूसँगै बस्ने गुल्मीका ती साथीको अनुरोधमा फाराम भरेका कार्की २८ वर्षपछि भने प्रहरी नेतृत्वमै पुगे। तर उनलाई प्रहरीमा जान प्रोत्साहन गर्ने साथीले भने इन्सपेक्टरमा नाम निकाल्न सकेनन्। पछि निजामतीतिरको जागिरे भए। 

२०४१ सालमा पढ्न भनेर काठमाडौँ आएका दानबहादुर कार्कीको गुल्मीदेखि– काठमाडौँसम्मको यात्रा रोचक छ। 

लोक सेवा आयोगको परीक्षामा नाम निकाल्नेमा गुल्मी जिल्ला देशकै उत्कृष्ट तीनभित्र पर्छ। गुल्मीकै मालिका गाउँपालिका ७ घमिरका दानबहादुर कार्कीका दुई जना काका शाखा अधिकृत र उपसचिव थिए। 

२०४१ सालतिरको कुरा हो। दानबहादुरले कक्षा ८ सम्मको अध्ययन पूरा गरेका थिए। गुल्मीमै पनि उनको पढाइ राम्रो थियो। तर काकाहरूले उनलाई काठमाडौँ गएर पढ्न भने। आफ्नै परिवार भने घर छोडेर पठाउन चाहँदैनथे। तीन भाइ छोरामध्ये माइला हुन् दानबहादुर। 

उनीहरूको गाउँमै व्यापार थियो। व्यापारबाट राम्रैसँग चलिरहेको थियो परिवार। काकाहरूले काठमाडौँमा पढ्नु पर्छ भनेपछि उनी त्यहीवर्ष बाटो लागे। कुलेश्वरमा साथीसँग डेरा बसे। ललितपुर माध्यामिक विद्यालयमा कक्षा ९ मा भर्ना भए। ९ र १० कक्षाको पढाइ त्यहीँ सके। 

एसएलसीपछि उनी त्रिभुवन विश्वविद्यालयमा पढ्थे। गाउँ फर्किंदा उनलाई धेरैले सोध्ने प्रश्न एउटै थियो– लोक सेवाको तयारी के भइरहेको छ? काकाहरूले दानबहादुरलाई परराष्ट्र सेवामा जान सुझाएका थिए। स्नातक पढ्दै गर्दा उनको तयारी परराष्ट्र सेवातिरै थियो। 

आफ्ना नियमित किताबसँगै परराष्ट्र सेवाका किताबहरू पनि उनले सँगसँगै हेर्न थालेका थिए। गुल्मीकै उनका साथीलाई भने प्रहरीमा जागिर खान खुब मन थियो।

२०५४ सालमा ३० जना प्रहरी निरीक्षकमा भर्ना खुल्यो। ती साथीले दानबहादुरलाई फाराम भरिदिन भने। आफू पनि फाराम भर्न उनैले भनेका थिए। 

साथीको फाराम भर्न गएका कार्कीलाई अन्तिमसम्म पनि प्रहरी निरीक्षकमा भिड्न मन थिएन। तर साथीको जिद्दीले गर्दा उनले पनि आवेदन दिए।

दानबहादुर दशरथ रंगशालामा सितोरियो कतारे पनि खेल्थे। बिहान नियमित दौडिन्थे। इन्सपेक्टरमा फाराम भरिदिएपछि आफूसँगै साथीलाई पनि दौडाउन थाले। प्रहरी निरीक्षकका किताब पनि सँगसँगै पढ्न थाले। तर उनले परराष्ट्र सेवाका किताब पढ्न पनि छाडेका थिएनन्। 

एक पटक इन्सपेक्टरको पनि जाँच दिऊँ न त भन्ने बाहेक जागिर नै खाउँला भन्ने चाहिँ उनलाई थिएन। प्रहरी निरीक्षकको जाँच पद्मकन्या क्याम्पसमा पर्‍यो। साथीसँगै गएर उनले लिखित परीक्षा दिए। तर अचम्म भयो, लामो समय प्रहरी निरीक्षककै लागि तयारी गरेका उनका साथी लिखित पास भएनन्, दानबहादुरको नाम निस्कियो।

दानबहादुर भने आफ्नो नाम निस्किएकोमा खुसी भन्दा पनि साथीको नाम ननिस्किएकोमा बढी दुःखी भए। उनका साथीको कुरा उल्टो थियो। आफ्नो नाम ननिस्किए पनि दानबहादुरको नाम निस्किएकोमा खुसी भए। 

दानबहादुर भन्छन्, ‘उनी मभन्दा निक्कै राम्रो मान्छे हो। सामाजिक काममा पनि तगडा, प्रहरीकै लागि पनि राम्रो मेहनत गरेर तयारी गरेका थिए, ट्यालेन्ट थिए। तर पत्रिकामा नतिजा हेर्दा नाम भेटिएन।’

देशमा माओवादी द्वन्द्व थियो। काठमाडौँ बस्ने कार्कीले गुल्मीमा भएका परिवारसँग प्रहरी निरीक्षकमा भिड्दै गरेको कुरा पनि सुनाएका थिएनन्। तत्कालै सुनाउनलाई अहिले जस्तो टेलिफोन सुविधा पनि थिएन। 

काठमाडौँमै निजामती सेवामा भएका काकाहरू भने प्रहरीमा जाने र भन्दै प्रश्न गरिरहन्थे। दानबहादुर भने ‘फाराम भरी त हालियो एक पटक दिऊँन’ भन्थे। 

लिखित परीक्षाको नतिजा तत्कालै आए पनि त्यसपछिको प्रक्रिया अल्झियो। लोक सेवाले ३० जनाको कोटामा आवेदन खुलाएको थियो। तर लिखित परीक्षामा २९ जना मात्रै उत्तीर्ण भए। आवश्यकता अनुसार उत्तीर्ण नगरेको भन्दै प्रतिस्पर्धीहरूले नै अदालतमा मुद्दा हाले। 

मुद्दा टुंगिन समय लाग्यो। अन्तर्वार्तासहित बाँकी छनोटका काम केही महिना रोकिए। अदालतबाट मुद्दा टुंगो लागेसँगै छनोटका बाँकी प्रक्रिया पूरा भयो। अनि, दानबहादुरको नाम इन्सपेक्टरको अन्तिम सूचीमा चढ्यो।

नाम पत्रिकामा आइसक्यो। तर, दानबहादुर अझै पनि प्रहरीको जागिर खाने कि नखाने भन्ने द्विविधामै छन्। 

पहिले प्रहरीको जागिर नखानू, परराष्ट्रको तयारी गर्नू भन्ने काकाहरू नै यसपछि भने उनलाई सम्झाउन थाले। ‘इन्सपेक्टर त राम्रै हुन्छ। अहिले त पहिलेजस्तो छैन। प्रहरीमा पनि धेरै अवसरहरू छन्। ठिकै हुन्छ,’ भन्न थाले। 

त्यसपछि दानबहादुरले २०५४ चैत १८ गते प्रहरी निरीक्षकको नियुक्ति लिए। 

माओवादी द्वन्द्वमा जागिर छाड्न दबाब
दानबहादुर भन्छन्, ‘प्रहरीको जागिर सधैँ उतारचढावपूर्ण नै हुन्छ। चुनौती आइरहन्छन्। पहिले एक खालको द्वन्द्व थियो। त्यो सल्टियो। त्यसपछि अरु खालका चुनौती आइरहे। प्रहरीको जागिर नै यस्तै हो सहज खालको हुँदैन। यी सबै खालका परिस्थितिमा आफन्त, घरपरिवार बिर्सिएर लगनशील भएर काम गर्नुपर्छ। मैले पनि त्यसैगरी काम गरेको हो, अब पनि गर्ने त्यही नै हो।’

जागिर सुरु गर्ने कि नगर्ने भन्नेमा जति अलमल थिए, भर्ना भइसकेपछि भने उनी डगमगाएनन्। द्वन्द्वको समयमा आमा चन्द्रकुमारीले बढी चिन्ता लिन्थिन्। भिडन्तका खबर सुन्दा जागिर छाड्न भन्थिन्। 

तर परिवारले जति कर गरे पनि उनी विचलित नभई संगठनले खटाएको जिम्मेवारीमा दृढ भए। फेरि उनले तालिम नसकिँदै चुनौतीपूर्ण जिल्ला जान हात उठाइसकेका थिए। २०५५ सालमा तालिमको अन्तिमतिर उनीहरूलाई सोधिएको थियो– रुकुम, रोल्पा, सल्यान, जाजरकोट र कालिकोट लगायतका जिल्लामा कोको जाने?

त्यतिबेला दानबहादुरले हात उठाएका थिए। 

दानबहादुरलाई त्यतिबेला लाग्थ्यो, जागिर खाइसकेपछि अब जहाँ खटायो, त्यहाँ जानैपर्छ। भनसुन गरेर नजान मिलाउन सकिन्छ भन्ने थाहा थिएन। भए पनि कसलाई भन्ने? भनसुन गर्ने ठाउँ पनि थाहा हुनुपर्‍यो। 

इन्सपेक्टर हुँदा २०५७ सालमा जिल्ला प्रहरी कार्यालय रोल्पा खटिए। जतिबेला द्वन्द्व उत्कर्षमा पुगेको थियो। सरकारले नेपाली सेना खटाइसकेको थिएन। २०५८ सालमा मात्रै सेना परिचालनको निर्णय भएको थियो। 

त्यसअघि उनी सशस्त्र प्रहरी गण नं १ गुल्म नेपालगञ्जमा कार्यरत थिए। रुकुमबाट इलाका प्रहरी कार्यालय काकडभित्ता, झापा सरुवा गरियो। दानबहादुरले काकडभित्तामा पहिलो पटक कमाण्ड गरेका थिए। 

झण्डै २८ वर्षमा उनको २६ पटक जिम्मेवारी हेरफेर भएको छ। त्यसमा पनि सबैभन्दा बढी समय प्रहरी प्रधान कार्यालयमा खटिए। प्रहरी प्रधान कार्यालयमा पनि महानिरीक्षककै सचिवालयमा रहेर बढी समय काम गरेको अनुभव उनीसँग छ।

प्रहरी प्रधान कार्यालयकै यूएन शाखामा दुई पटक काम गरेका उनले इन्टरपोल र विशेष ब्युरोको पनि जिम्मेवारी सम्हालेका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँ, इलाका प्रहरी कार्यालय आँबुखैरेनी, इलाका प्रहरी कार्यालय बुटवल, जिल्ला प्रहरी कार्यालय सप्तरी, जिल्ला प्रहरी कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको पनि कमान्ड गरेका थिए। 

काठमाडौँमा डीएसपी हुँदा नयाँ बानेश्वर वृत्तको कमान्ड गरेका कार्कीले एसएसपी हुँदा जिल्ला प्रहरी परिसर काठमाडौँको जिम्मेवारी पनि सम्हालेका छन्। काठमाडौँमा कार्यरत रहँदा नक्कली शरणार्थी प्रकरण उनकै कमान्डमा अनुसन्धान भएको थियो। 

तत्कालीन अञ्चल प्रहरी कार्यालय महाकाली, पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखरा, लागुऔषध नियन्त्रण ब्युरो, महानगरीय ट्राफिक प्रहरी महाशाखा र अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पनि काम गरिसकेको अनुभव उनीसँग छ।   

डीआईजीमा बढुवा भएपछि प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएका कार्कीले प्रहरी केन्द्रीय प्रवक्ताको पनि जिम्मेवारी सम्हालेका छन्। त्यसपछि लुम्बिनी प्रदेश प्रहरी कार्यालयको कमान्ड गरेका उनी त्यसपछि एआईजीमा बढुवा भएका थिए। एआईजी बनिसकेपछि सुरुमा मानवस्रोत विकास विभागमा पदस्थापन भएका उनलाई २३ गतेको जेनजी आन्दोलनमा ठूलो मानवीय क्षति भएपछि काठमाडौँ उपत्यकाको जिम्मेवारी दिइएको थियो। 

यहाँको कमान्ड गरेको ठिक दुई महिनापछि उनी प्रहरीको सर्वोच्च कमान्डर बनेका हुन्। यसबीचमा उनी दुई पटक गरी ३ वर्ष पूर्वी टिमोर र एक पटक हाइटीमा १८ महिना शान्ति मिसनमा खटिएका थिए। 

प्रहरी निरीक्षकमा भर्ना भएको १२ वर्षपछि २०६६ मंसिर २६ गते २०५३ सालको टोलीसँगै उनी डीएसपीमा बढुवा भएका थिए। २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएको टोलीलाई पनि २०५८ सालमा नेपाल प्रहरीमा स्थानान्तरण गरिएको थियो। 

२०७४ साउन १९ गते एसपी, २०७९ साउन ३ गते एसएसपीमा बढुवा भएका थिए। त्यतिबेलासम्म अनुसन्धानबाट आएको टोलीसँगै बढुवा भएका कार्की त्यसपछि भने नेतृत्वमा पुग्नेगरी अगाडि लागेका थिए। 

२०८१ जेठ १३ गते अनुसन्धानको टोलीलाई छुटाउँदै कार्कीलाई पहिलो नम्बरमा डीआईजीमा बढुवा गरिएको थियो। २०८२ वैशाख ११ गते एआईजीमा पनि उनी पहिलो नम्बरमै रहेर बढुवा भए। 

वर्तमान सरकारले पनि यसअघिकै वरीयतालाई कायम राख्दै कार्कीलाई नै प्रहरी नेतृत्व सुम्पिने निर्णय गरेको हो। उनले मानविकी तथा समाजशास्त्र, शिक्षाशास्त्र र कानुन संकायमा स्नातक गरेका उनी राजनीतिशास्त्रमा स्नातकोत्तर हुन्। 

२०७५ सालमा नेपाल सरकारबाट प्रबल जनसेवा श्री पदक पाएका उनी संयुक्त राष्ट्र संघबाट समेत गरी १४ पटक अभिलेखमा जनिने गरी सम्मानित तथा पुरस्कृत भएका छन्। 

सबैलाई समेटेर इमान्दारीताका साथ कामगर्छु : नवनियुक्त आईजीपी कार्की 
शान्ति सुरक्षामा जस्तै उनको करिअरमा पनि उतारचढाव आइरह्यो। बढुवाका वरीयतामा पनि एसएसपीसम्म तलमाथि भइरह्यो। तर एसएपीबाट भने उनी आफ्नो ब्याचबाट अगाडि लागेका थिए। 

आईजीपी बनिसकेपछि उनले नेपालखबरसँग भने– ‘इमानदारीपूर्वक काम गर्नुपर्छ। मेरा पितापुर्खाले पनि इमान्दारीमा बल छ भन्नुहुन्थ्यो। त्यही भएर मैले त्यसलाई कहिल्यै भुलिनँ। यो सबै मेरो मेहनत र इमानदारीकै मूल्यांकन हो भन्ने ठान्छु।’

हामीले प्रश्न थप्यौँ, ‘अबको दुई दिनपछि प्रहरी संगठनको नेतृत्व गर्दै हुनुहुन्छ। हिजोसम्मका आईजीपीका प्रतिस्पर्धीहरूसँग कसरी मिलेर काम गर्नुहुन्छ?’

‘मुलुकलाई शिरमा राखेर, मुलुकमा शान्ति सुरक्षा, अमनचयन, नागरिकलाई आशा जगाउने काम गर्ने हो। हामी सबैको उदेश्य नेपाल प्रहरीमा आएर नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभुत गर्ने, खुसी बनाउने नै हो। यसमा व्यक्तिगत कसैको कुनै छुट्टै इच्छा आकांक्षा हुनु पर्ने कारण छैन। सबैले टिममै बसेर काम गर्ने। नेपाल प्रहरीको उदेश्य अनुरूप, नागरिकको अपेक्षा अनुरूप काम गर्ने भन्ने नै हो,’ कार्कीले भने, ‘हिजोका दिनमा सबै साथीहरूले आ आफ्ना किसिमले विषयवस्तु राख्नु भयो। अब सरकारले निर्णय गरिसकेको छ। सबैले मुलुकलाई अगाडि बढाउने किसिमले अहिले अप्ठेरो परिस्थितिबाट हामी नयाँ दिशातर्फ नागरिकमा आशा जगाउने किसिमले काम गर्नुपर्छ। सबैसँग सरसल्लाहमै सबैलाई समेटेरै काम गर्नेछु।’

कार्कीले २०८४ चैत १८ गतेसम्म प्रहरीको नेतृत्व गर्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad