ललितपुर महानगरपालिकाले ऐतिहासिक पाटन दरबार क्षेत्रमा आगलागी आपतकालीन सूचना प्रणाली स्थापना गरेको छ। महानगरका मेयर चिरिबाबु महर्जनले मंगलवार एक विशेष समारोहका बीच उक्त प्रणालीको शुभारम्भ गरे।
मेयर महर्जनका अनुसार आगलागी वा अन्य विपद्का समयमा तत्काल सूचना प्रदान गरी क्षति नियन्त्रणमा मद्दत पुर्याउने उद्देश्यले यो प्रणाली जडान गरिएको हो। उनले यस प्रणालीलाई परीक्षण स्वरूप सञ्चालनमा ल्याइएको र प्रभावकारी देखिएपछि ललितपुर महानगरका सबै चोकहरूमा विस्तार गर्ने योजना रहेको जानकारी दिए।
महर्जनले ललितपुर महानगरपालिकाले विपद् व्यवस्थापनका क्षेत्रमा अन्य नगरपालिकाभन्दा अघि बढेर काम गर्दै आएको दाबी पनि गरे। उनले भने, ‘यो अहिले हामीले डेमो गर्न खोजेका हौं। यसको कार्यक्षमता परीक्षण गरिँदैछ। यदि सफल भयो भने ललितपुरका प्रत्येक चोकमा यो प्रणाली जडान गरिनेछ।’
यसअघि नै ललितपुर महानगरपालिकाले विपद् वा आकस्मिक गुनासो सुन्नका लागि ११३१ नम्बरको टोल–फ्रि सेवा सञ्चालनमा ल्याइसकेको छ।
Shares

प्रतिक्रिया